बाँके (फत्तेपुर) : बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबारदेखि ‘प्रथम गाउँपालिका अध्यक्ष क्रिकेट कप’ सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको सहयोगमा राप्ती युवा क्लवले राप्ती सोनारी–७ लालपुरमा उक्त प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको एक समारोहका बीच प्रमुख अतिथी एवं राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ब्याटिङ र विशिष्ट अतिथि एवम गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बलिङ गरेर उद्घाटन गरेका हुन् । क्लवका अध्यक्ष मनोज पाण्डेको सभापतित्वमा भएको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले राप्ती सोनारी गाउँपालिका क्षेत्रका खेलाडीहरु खेलकुदका माध्यमबाट राष्ट्रमा चिनिन सक्नुपर्ने बताए ।
गाउँपालिकाले थुप्रै बिधाका खेलकुदको विकास गर्न चाहेको भन्दै अध्यक्ष पौडेलले भने, ‘हरेक क्षेत्रबाट हामीले खेलाडी उत्पादन गर्न चाहेका छौं, यस्ता प्रतियोगिताहरु अझै भईरहनुपर्छ ।’ राप्ती सोनारी गाउँपालिकामा पहिलो पटक यो प्रतियोगिता आयोजना भएकोमा उनले आयोजक क्लबलाई धन्यवाद दिए ।

‘खेलमा जित–हार हुन्छ, प्रतियोगिता कला प्रर्दशनी गर्ने ठाउँ पनि हो,’ उनले भने ‘खेलाडीसँग अनुशासन हुन्छ, जहिले पनि अनुशासित भएर खेल्नुपर्छ ।’ क्लबले खेलकुदका गतिविधि मात्रै नभएर अन्य सामाजिक विकास सम्बन्धी उत्तरदायित्व पनि निभाउनुपर्ने अध्यक्ष पौडेलको सुझाव छ । यस्तै विशिष्ट अतिथी एवम् राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष थारुले खेलाडी र क्लबले प्रतियोगिता गर्ने मात्र नभएर अन्य रचनात्मक काम पनि गर्नुपर्ने बताइन् ।
राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले प्रतियोगितामा जित–हार भन्दा पनि सहभागी भएर खेल प्रर्दशन गर्नु महत्वपूर्ण हुने बताए । ‘यस्ता प्रतियोगिताले खेलाडी जन्माउने काम पनि गर्दछन्, खेल जित्नु र हार्नु ठुलो कुरा होईन, सबैभन्दा महत्वपूर्ण कुरा त खेल प्रर्दशन गर्नु नै हो,’ संयोजक सुवेदीले भने ।
यही फागुन १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा राप्ती सोनारी, नरैनापुर र नेपालगन्जका गरी १६ वटा टिम सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, उपविजेता टिमलाई २० हजार रुपैयाँ प्रदान गर्ने प्रतियोगिता संयोजक दिपेन्द्रकुमार पाण्डे (दिपु)ले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत आइतबार दुई वटा खेल सम्पन्न भएका छन् । खेलमा ‘नेपालगन्ज-६ क्रिकेट टिम’ का ब्रीज नन्दन तिवारी र ‘राप्ती सोनारी-७ क्रिकेट टिम’ का रियाजुद्दिन खान म्यान अफ द म्याच घोषित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी पौडेलले दुबै जनालाई मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा भेरी रकर्स स्पोर्ट्स क्लबले प्राविधिक सहयोग गरेको बताइएको छ ।









