नेपालगन्ज : पूर्व खेलाडी समाज बाँकेले नेपालगन्जमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता गर्ने भएको छ । नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा यही जेठ ९ र १० गते ब्याडमिन्टन तथा जेठ १६ देखी १८ गतेसम्म भलिब प्रतियोगिता आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन तथा बिद्यालय स्तरीय महिला एवं पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाजका कार्यबाहक अध्यक्ष निजामुद्धिन सिद्दीकीले बताए । ब्याडमिन्टनमा ३ लाख ५० हजार तथा भलिबल खेलमा ४ लाख ५० हजार गरी करिव ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमानित बजेट रहेको उनले जानकारी दिए ।
ब्याटमिन्टन अण्डर–१५ मा प्रथम, द्धितिय र तृर्तिय हुनेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय तथा मेन्स डबल्समा प्रथम, द्धितिय र तृर्तिय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै भलिबलमा महिला तथा पुरुष तर्फ प्रथम, द्धितिय र तृर्तिय हुने टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशीमा सरकारी नियम अनुसार करकट्टी गरिने समाजका अध्यक्ष सिद्दीकीले सुनाए ।
विजयी खेलाडीहरुलाई नगद पुरस्कारका साथै प्रमाणपत्र, पदक, कप र ट्रफी समेत प्रदान गरिनेछ । नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरुष गरी २५ वटा टिम तथा ब्याडमिन्टनतर्फ ७५ जना खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता अवलोकन गर्न निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्नका लागि प्रतियोगिता सञ्चालन समिति, निर्णायक समिति, मञ्च व्यवस्थापन समिति लगायतका विभिन्न समितिहरु गठन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा पूर्व खेलाडी समाजका पदाधिकारी, पूर्व खेलाडी, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।