नेपालगन्ज : नेपालगन्जमा शुक्रबारदेखी ‘प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेले नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा प्रतियोगिता सञ्चालनमा ल्याएको हो । उक्त प्रतियोगिताको शुक्रबार नेपालगन्जका मेयर प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन गर्दै मेयर बिष्टले नेपालगन्जको खेल क्षेत्रको विकासमा पालिका सधैं साथमा रहेको बताए । राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा नेपालको शिर उचो पार्ने माध्यम खेल नै भएको जिकिर गर्दै मेयर बिष्टले खेलकुदको विकासमा गैरसरकारी र निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्ने बताए ।
प्रतियोगितामा ब्वाईज अण्डर-१५ इभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको प्राविधिक प्रमुख जयन्त कुमार शर्माले जानकारी दिए । उनले शुक्रबार बेलुकासम्म क्वार्टर फाईनलका सम्पुर्ण खेलहरु सम्पन्न हुने तथा सेमिफाईनल र फाईनल खेल शनिबार(भोलि) हुने बताए ।
अण्डर-१५ तर्फ प्रथम, द्वितीय र तृर्तिय हुने खेलाडीले क्रमशः नगद १० हजार, ५ हजार र २५/२५ सय प्राप्त गर्ने त्यसैगरी मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र ५/५ हजार प्राप्त गर्ने महासचिव शर्माले जानकारी दिए ।
यसअघि समाजका उपाध्यक्ष शान्ती सिंहले स्वागत गरेको उद्घाटन समारोहमा सशस्त्र प्रहरी उपरीक्षक दिपक चन्द, क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रथम नेपाली महिला ओलम्पियन पार्बती थापा, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट, अग्रज खेलकर्मी लगायतको उपस्थिती रहेको थियो ।
