नेपालगन्ज : नेपालगन्जमा जारी प्रथम नगर माबि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समिकरण पूरा भएको छ । महिलातर्फ युनाईटेड र आदर्श माबि तथा पुरुषतर्फ धम्बोजी माबि र जय जनता फाईनलमा प्रवेश गरेका छन् ।
महिलातर्फ बिहीबार भएको सेमिफाईनल खेलमा युनाइटेडले सगरमाथालाई २५–९, १९–२५ र २५–१६ ले तथा आदर्श माबिले जय बागेश्वरीलाई २५–१५, २५–१७ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन् । सेमिफाईनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्नेछन् ।
त्यस्तै पुरुषतर्फ भएको सेमिफाईनल खेलमा धम्बोजी माबिले युनाइटेडलाई २५–२२, २५–२१ ले तथा जय जनताले मंगल माबिलाई २७–२५, २५–१४ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन् । पराजित हुने युनाईटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार(भोली) बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ, भने दिउँसो ३ बजे फाईनल खेल हुने प्रतियोगिताका संयोजक राकेश श्रीवास्तवले जानकारी दिए ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालनमा भईरहेको छ । यही जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ ।
नक आउट प्रणालीका आधारमा खेलाइएको उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन् ।