नेपालगन्ज : प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आर्दश मावि र धम्बोझी माविले उपाधि जितेका छन् । प्रतियोगितामा महिलातर्फ आर्दश मावि नेपालगन्ज र पुरुषतर्फ धम्बोझी माविले उपाधि जितेका हुन् ।
नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा शुक्रबार सम्पन्न भएको महिला भलिबलको फाईनल खेलमा आदर्श माविले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५–१६, २५–१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो । युनाईटेडले उपविजेतामै चित्त बुझायो । जयबागेश्वरी माविले सगरमाथा माविलाई २५–१९, २५–१६ ले पराजित गरेर तेस्रो भयो । यस्तै पुरुषतर्फ धम्बोजी माविले जय जनता मावि थपुवालाई २५–१६, २५–१६ ले पराजित गर्दै उपाधि जित्यो । यसैगरी मंगल प्रसाद माविले युनाईटेडलाई २५-१८, २४–२६ र २५–२२ ले पराजित गरेर तेस्रो भयो ।
दुबै इभेन्टमा प्रथम हुने टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुनेले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धम्बोजी माविका श्यामलाल विश्वकर्मा र आदर्श माविका ग्रेष्ना चिलवाल उत्कृष्ट खेलाडी घोषित भए । दुबै जनाले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी हुने टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पुर्बमन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाल, समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी, ओलम्पियन पार्वती थापा लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको समाजका सचिव नरेन्द्र थापाले जानकारी दिए । समापन समारोहमा विगत ५ दशकदेखि नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने नेपालगन्ज-१८ कारकादों निवासी अशोकजंग थापालाई दोसल्ला र ढाकाको टोपी लगाएर कदर पत्रसहित सम्मानित गरियो ।