नेपालगन्ज : गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि असार १२ देखि १४ गतेसम्म पोखरामा हुने ‘गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता’ मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली आज पोखरातर्फ प्रस्थान गरेको छ । १३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढी बर्दियामा आयोजित बिदाई कार्यक्रममार्फत औपचारिक रूपमा बिदाई गरियो । कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेरणादायी मन्तव्य दिएका थिए ।
लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष जयन्त कुमार शर्माले टोलीको मेहनत, समर्पण र अनुशासनको प्रशंसा गर्दै महिला खेलाडीहरूले प्रदेशको गौरव बढाउने काम गर्दै आएको बताए । उनले गण्डकी कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीको झण्डा फर्फराउनेमा आफू विश्वस्त रहेको जीकिर गर्दै यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई नेतृत्व र प्रेरणाको अवसर पनि भएको उल्लेख गरे । उनले टोलीलाई तीन हजार रुपैयाँ खाजाका लागि सहयोग गर्दै सफलताको शुभकामना समेत व्यक्त गरे ।
त्यस्तै लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष खगेन्द्र चन्दले संघ सधैं खेलाडीहरूको साथमा रहने र आगामी दिनमा थप अवसर सृजना गरिने प्रतिबद्धता जनाए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्दले खेलकुद क्षेत्रले महिला सशक्तिकरणमा पु¥याउँदै आएको भूमिकाको उल्लेख गर्दै खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई नेतृत्व, अनुशासन र सशक्तिकरणको माध्यम पनि भएको बताए । उनले टोलीलाई नगद दुई हजार रुपैयाँ सहयोग गरे ।
खेलप्रेमी समाजसेवी सोनु सिद्दिकीले खेलाडीहरूप्रति सहानुभूति र उत्साह व्यक्त गर्दै १३ वटा खेलपोशाक सहयोग गरेका थिए । उनले महिला खेलाडीहरूको उत्साह र मनोबल बढाउन आफू सधैं तयार रहेको बताए । कार्यक्रममा सहभागी खेलाडी शर्मिला केसीले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आभार प्रकट गर्दै सबैबाट पाएको समर्थन र उत्साहले खेलाडीहरुको मनोबल उच्च बनाएको बताए ।
गण्डकी कपमा राम्रो प्रदर्शन गरेर सबैको विश्वास जित्ने उनको भनाई थियो । लुम्बिनी प्रदेशको टोलीले गण्डकी कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले खेलाडीहरूमा उत्साह, मनोबल र प्रदेशप्रतिको जिम्मेवारीको भावना थप मजबुत बनाएको देखिएको छ ।