बाँके(बैजनाथ) : बाँकेको बैजनाथ गाउँपालिकाले डिजिटल प्रविधि सहितको एकिकृत सेवा प्रवाह केन्द्र तथा सेवाग्राही प्रतिक्षालय सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले २० लाख रुपैयाँको लागतमा भवन र १७ लाख रुपैयाँको लागतमा डिजिटल उपकरण जडान गरेको हो ।
गाउँपालिकाले एसी जडिट भवनसहित शौचालय र स्तनपान कक्ष पनि बनाएको छ । केन्द्र तथा प्रतिक्षालयमा महिला सेवाग्राहीका लागि अलग्गै स्तनपान कक्ष र महिला र पुरुषसहित अपांगता भएका सेवाग्राहीका लागि पनि छुट्टै शौचालय निर्माण गरिएको छ ।एकिकृत सेवा प्रवाह केन्द्र तथा सेवाग्राही प्रतिक्षालयको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बिहीबार औपचारिक रुपमा रिवन काटेर र स्वीच थिचेर उद्घाटन गरेका हुन् । डिजिटल प्रविधि सहितको एकिकृत सेवा प्रवाह केन्द्र तथा सेवाग्राही प्रतिक्षालय बाँकेकै पहिलो भएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँपालिकालाई डिजिटल प्रविधिसँग जोडेर जनतालाई सहज रुपले सेवा प्रदान गर्नका लागि केन्द्र तथा प्रतिक्षालय सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘कुनै कामका लागि गाउँपालिकामा आउने सेवाग्राही सुरुमा यहाँ पस्नुहुन्छ, त्यसपछि टोकन लिएर प्रतिक्षालयमा बस्नुहुन्छ,’ अध्यक्ष शाहीले भने ‘केन्द्रमा बसेका कर्मचारीलाई कुन कामका लागि आएको हो भन्नेबारे जानकारी दिनुहुन्छ, कर्मचारीले सबै कागजात हेर्छन्, त्यसपछि सबै कागजात मिलेको फाईललाई कार्यालय सहयोगीले सम्बन्धित शाखामा लगेर बुझाउँछन्, सेवाग्राही चाही प्रतिक्षालयमै बसेर आफ्नो फाईल कुन शाखामा पुग्यो भनेर डिजिटल बोर्डबाट हेर्नुहुन्छ, अनि आफ्नो काम सहज रुपमा गराएर घर फर्किनुहुन्छ ।’
प्रविधिको प्रयोगबाट सेवाग्राहीको काम छिटो, छरितो रुपले सम्पन्न हुने उनको विश्वास छ । आफुहरुले गाउँपालिकालाई प्रविधिसँग जोडिरहेका भन्दै अध्यक्ष शाहीले ८ वटै वडा कार्यालयका हरेक गतिविधि र कार्यलाई पनि क्रमिक रुपले गाउँपालिकाबाट एकिकृत गरेर हेर्न सक्ने प्रविधि निकट भविष्यमा जोडिने बताए ।
बैजनाथ गाउँपालिका क्षेत्रका जनताको डिजिटल प्रोफाईल, तथ्यांक संकलनमा पनि प्रविधिको प्रयोग गरिने उनले बताएका छन् । उद्घाटनका क्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न वडाअध्यक्ष तथा कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।






