बाँके (गुर्दनगौडी) : बाँकेको अति विकट मानिने राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने सिमा क्षेत्र बस्तीका घरदैलोमा स्थानीय सरकार पुगेको छ । राप्ती सोनारीको वडा नम्बर ४ को खयरभट्टी, चुनभट्टी, गुर्दनगौडी, बाँसखोली, चुनपानी, माझपानी लगायत करिव एक दर्जन बढी गाउँमा स्थानीय सरकार पुगेको हो ।
स्थानीय सरकार प्रमुख समेत रहेका राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’, गाउँपालिका अध्यक्ष पौडेलका सचिवालय प्रमुख पवन शाह लगायतको टोली त्यहाँ पुगेर विभिन्न योजना अनुगमन गरेको हो ।
त्यस क्षेत्रमा बाटो, बिद्यालय, आधारभुत स्वास्थ्य केन्द्र, प्रतिक्षालय, तटबन्ध, बत्ती लगायत स्थानीय सरकारबाट निर्मित संरचनाको अनुगमन गरिएको वडा नम्बर ४ का वडाअध्यक्ष खड्काले जानकारी दिए । सो क्रममा बिद्यालयका शिक्षक, ब्यवस्थापन समितिका पदाधिकारी, बिद्यार्थी लगायतसँग पनि भेटघाट गरी त्यहाँका समस्या टिपोट गरिएको उनले बताए ।
सिमा क्षेत्रका बासिन्दासँग गाउँपालिका अध्यक्ष पौडेलले आगामी बजेटबाट बाटोलाई थप सुधार गर्न गाउँपालिकासहित प्रदेश र संघिय बजेट ल्याउन आवश्यक पहल गर्ने, त्यहाँको बस्तीलाई होमस्टेको रुपमा विकास गर्न चासो र चिन्ता लिएको बताइएको छ ।



