नेपालगन्ज : जुलाई १६ देखी थाइल्याण्डको पटायामा हुन लागेको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन जान लागेका खेलाडीलाई बिदाई गरिएको छ । जुलाई १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा बाँकेबाट दुई जना खेलाडी सहभागी हुदैछन् ।
प्रतियोगितामा ७६ किलो तौल पुरुष सिनियरतर्फ सन्तोष काजी शाक्य र सिनियरमा ६८ किलो तौलमा मोहित गुप्ता सहभागी हुनेछन् । ति खेलाडीहरू थाइल्याण्ड जानुपूर्व नेपालगन्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले एक कार्यक्रमका बीच बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर नेपालगन्जका डाइरेक्टर भोदुराम थारु, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनौजिया, कार्यपालिका सदस्य मोहम्मद मुज्ममिल, समाजसेवी अमर भण्डारी, लियानाका सिइओ अभिषेक थारु, गुलरिया नगरपालिका खैरापुरस्थित संगम कंक्रिटका डाइरेक्टर अभय राना लगायतको सहभागिता रहेको थियो ।
लियानाका डाइरेक्टर थारुले खेलाडीलाई बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना दिए । खेलाडीहरूलाई खेल मैदानमा उत्रिँदा जित्छु र गर्न सक्छु भन्ने भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाईमा पुर्याउन सकिने उनले बताए । खेलाडीहरूको वृत्ति विकासका लागि लियाना सदैव तत्पर रहेको उनले बताए ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहले भने, ‘खेलकुद मात्र यस्तो एउटा क्षेत्र हो, जहाँ खेलमार्फत ठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूला द्वन्द्व र सम्भावित नरसंहार पनि खेल क्षेत्रले टारेको छ, खेलमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनः मिलनका आधार तय भएका छन् ।’