नेपालगन्ज : ग्लोबल डेरी उद्योगले नेपालगन्ज क्षेत्रमा पनि आफ्नो बजार बिस्तार गरेको छ । ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादनलाई उद्योगले बजारमा ल्याएको हो ।
२०५२ सालदेखी पाल्पाको तानसेनमा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको अगुवाईमा कमल न्यौपाने र जनक न्यौपाने समेतको मुख्य लगानीमा २०७० माघ १९ गतेदेखी महाराजगन्ज-१ कपिलवस्तुमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको थियो । २०७२ सालमा बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवं दुग्धजन्य पदार्थहरु उत्पादन भई बिक्री वितरण कार्य प्रारम्भ भएको थियो ।
रुपन्देही, कपिलवस्तु, काठमाडौं, पोखरा, चितवन लगायत स्थानमा यसअघि बजारीकरण गर्दै आएकोमा नेपालगन्जमा साउन १ गते बिहीबार (भोलि)देखी आफ्नो बजार विस्तार गर्न लागेको हो । उद्योगका प्रबन्ध निर्देशक जनक न्यौपानेले पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जमा भोलिदेखी बजार विस्तार गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार नेपालगन्जको कारकाँदो चोक नजिक रहेको बिक्री केन्द्रको औपचारिक रुपमा उद्घाटन गरिनेछ । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व कृषि मन्त्री भण्डारीलाल अहिर, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट लगायत सहभागी हुनेछन् ।
कम्पनीले हालसम्म नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी ८१ वटा संकलन एवं चिस्यान केन्द्र स्थापना गरी दैनिक ४० देखी ५० हजार लिटर दुध संकलन प्रशोधन विविधिकरण र बजारीकणको कार्य गर्दै आएको उनले बताए ।
कम्पनीले विगत ५ वर्षदेखी बाँके र बर्दियाका चिलरिया, मटेहिया, मिलनचोक, बेतहनी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुरमा मुख्य चिस्यान केन्द्र स्थापना गरी दुध संकलन कार्य गर्दै आइरहेको छ, भने अन्य ३० वटा शाखा दुध संकलन केन्द्रहरु समेत सञ्चालन गरी दुग्ध खरिद कार्य गर्दै आइरहेको छ । जसमा प्रत्यक्ष रुपमा करिव ८ हजार किसान परिवारबाट उत्पादित दुध संकलन भइरहेको छ । उद्योगबाट दुध, दही, मोही, घ्यू, पनिर, छुर्पी लगायत उत्पादन गर्ने गरिएको छ ।
पश्चिम नेपालमा ‘मिल्क होलिडे’ पूर्णरूपमा अन्त्य गर्न आफ्नो कम्पनीले किसानले उत्पादन गरेको दुधको सहज बजार पहुँचका लागि विभिन्न चिस्यान केन्द्रहरू, संकलन केन्द्रहरू स्थापना गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउँदै लगिरहेको प्रबन्ध निर्देशक न्यौपानेले बताए । किसानले उत्पादन गरेको दुधलाई सरकारले बनाएको मापदण्ड अनुसार फ्याटको आधारमा मुल्य दिने गरिएको उनले सुनाए ।