काठमाडौं : केहीदिन अघि आएको ठुलो बाढी पहिरोको कारण देशभरका २९ जलविद्युत आयोजनामा क्षति भएको छ । सञ्चालनमा रहेका र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनामा बाढी पहिरोले क्षति पुर्याएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का अनुसार निर्माणाधीन अवस्थामा रहेका १५ वटा जलविद्युत आयोजनाको निर्माण सामाग्री बगाउनुका साथै हेडबक्स, एक्सेस रोड, पावर हाउसमा क्षति पुगेको छ । क्षतिग्रस्त निर्माणाधीन जलविद्युत आयोजना इलाम, पाँचथर, सिन्धुपाल्चोक, रसुवा, भोजपुर, म्याग्दी, लमजुङ, रामेछाप, धादिङ र मनाङका रहेका छन् ।
बाढीले क्षति पुर्याएका निर्माणाधीन आयोजनाहरूको उत्पादन डिले हुने इप्पानले जनाएको छ । हिमाल दोलखा हाइड्रोपावरको पावर हाउस, इन्टेक र सवस्टेशनमा क्षति भएको छ । जसले गर्दा यस आयोजनाको उत्पादन बन्द भएको छ । इलामकै अन्य एक दर्जन भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
ती आयोजनाको पनि उत्पादन बन्द रहेको छ । पाँचथर पावर कम्पनीको टेलरेस सुरुङ पहिरोले अवरुद्ध गरेको छ । सोलु हाइड्रोपावरको पावर हाउसको दायाँ बायाँ पहिरो गई बाटो अवरुद्ध भएको छ । ८२ मेगावाटको यस आयोजनको उत्पादन भने बन्द भएको छैन । यसबाहेक अन्य बाढीले क्षति पुर्याएका सबैजसो आयोजनाको उत्पादन बन्द रहेको इप्पानले जानकारी दिएको छ ।