बाँके (रामपुर) : बैजनाथ-४ चिल्लेटाका कन्हैलाल थारुले संघियताले यति छिट्टै परिवर्तन ल्याउँला भन्ने कल्पना समेत गरेका थिएनन् । संघियताका कारण निर्माण भएको तीन तहको सरकारमध्ये सबैभन्दा तल्लो तहको स्थानीय सरकारले जनताको आवश्यकतालाई प्रत्यक्ष बुझ्न पाउँदा विकास निर्माणका कामहरु बढी मात्रामा हुन पाएको उनको बुझाई छ ।
‘स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीसँग साँझ–बिहान भेट हुन पाएको छ, हामीले आफ्ना प्रतिनिधीलाई सिधैं आफ्ना कुरा राख्न पाएका छौं, हामी जनताको भावनालाई स्थानीय जनप्रतिनिधीले बुझ्नु भएको छ,’ कन्हैलालले भने । जनताको आवश्यता र मागका आधारमा हरेक वर्ष विनियोजन हुने बजेटबाट सडक, नाला, कल्भर्ट, भवन, खानेपानी, सिंचाई जस्ता पुर्वाधारहरु बन्न सम्भव भएको उनी बताउँछन् । पुर्वाधार विकासले बैजनाथ गाउँपालिकाको अवस्था पहिलेको तुलनामा अहिले फेरिएको कन्हैलाल बताउँछन् ।
गाउँपालिका क्षेत्रभित्रका प्रायः मुख्य सडकहरु कालोपत्रे भइसकेका छन् । सहायक सडकहरु पनि कालोपत्रे हुने लाईनमा छन् । कुनैबेला हिलाम्य र धुलाम्य हुने सडक ग्राभेलमा परिणत भएका छन् । स्थानीय बासिन्दाको आवश्यकता अनुसार नयाँ बाटाहरु ठाउँ-ठाउँमा खुलेका छन् ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले यहाँ निर्माण भएका विकासका पुर्वाधारबाट समग्र गाउँपालिकाबासीलाई स्थानीय सरकारले छाम्दा भेटिने, हेर्दा देखिने, बोल्दा सुनिने गरी अनुभुति दिलाएको बताए । ‘बैजनाथमा भएको विकास निर्माण र आएको परिवर्तनले गाउँपालिकाबासीलाई स्थानीय सरकार सक्रिय भएको अनुभुति दिलाएको छ,’ उनले भने, ‘गाउँपालिकालाई विशेषगरी समृद्धिसँग जोड्नका लागि सामाजिक विकास, आर्थिक विकास र पुर्वाधार विकासमा जोड दिएका छौं, गाउँपालिकाको चौतर्फी विकासको लागि हामीले पुर्वाधारतिर विभिन्न किसिमका भौतिक संरचनाहरु सडक, पर्यटन सडकलाई जोडिरहेका छौं, त्यसपछि प्रशासकीय भवनलाई जोड्नको लागि रिङरोडको अवधारणा ल्याएर काम गरिरहेका छौं ।’
बैजनाथ स्थानीय सरकारले सडक, बाटो, नाली, भवन निर्माण, खानेपानी, सिंचाई लगायतमा अत्यन्तै चासो राखेर बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०८१/०८२ सम्म आईपुग्दा आम सर्बसाधारण नागरिकले विकासको अनुभुति गर्न पाएका छन् । बैजनाथ गाउँपालिकाको स्वरुप क्रमिक रुपले फेरिदै जादाँ उनीहरु दंग छन् ।
संघियता कार्यान्वयनका लागि सरकारले तीन तहको सरकार निर्माण गर्यो । संघ र प्रदेश भन्दा स्थानीय सरकार जनताको नजरमा सबैभन्दा नजिक छ । यसले गर्दा जनताले प्रत्यक्ष रुपमा आशा र अपेक्षा गर्ने भनेको नै स्थानीय सरकारबाट हो । तसर्थ, स्थानीय सरकारले गरेका काममा जनताले चासो राख्नु स्वभाविक कुरा हो । आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले कालोपत्रेसँगै ग्राभेल, बाटो स्तर उन्नती, स्कुलका भवन, खानेपानी, सिंचाई जस्ता योजनाहरुमा बजेट खर्च गरेको छ ।
योजना शाखा प्रमुख डोटी नेपालीका अनुसार गाउँपालिकाले संघ र प्रदेश समेतको गरी पुर्वाधार विकासतर्फ १० करोड रुपैयाँ विनियोजन गरेकोमा सोही बजेटमार्फत ठेक्का र उपभोक्ता समिति मार्फत योजना सम्पन्न गरिएको छ । योजना शाखाका अनुसार बैजनाथस्थित शंकर माध्यामिक बिद्यालय थपुवाको कृषि क्याम्पसको घेराबार तथा प्रशासनिक भवन निर्माणका लागि २ करोड विनियोजन भएकोमा ठेक्का प्रक्रियामार्फत १ करोड ४६ लाखमा सम्पन्न भएको छ ।
सरस्वती आधारभुत विद्यालय पितमारी, वडा नम्बर २, जनजागरण आधारभुत बिद्यालय चिसापानी, नेरामावि टिटिहिरियाको ४ कोठे भवन निर्माण गर्न १ करोड ६५ लाख विनियोजन भएकोमा उपभोक्ता समितिमार्फत योजना सम्पन्न भएको छ । बैजनाथ–४ स्थित ढकाल चोकदेखी कोहलपुर-२ जोड्ने ३ सय ८० मिटर सडक कालोपत्रे गर्न ३० लाख बजेट विनियोजन भएकोमा २१ लाख रुपैयाँमा सम्पन्न भएको छ ।
स्थानीय गडरहीदेखी गुनापुर जोड्ने २ सय ६० मिटर सडक कालोपत्रे गर्न ४० लाख बजेट रहेकोमा सम्पन्न भईसकेको छ । बैजनाथ–३ मा मनसाबु थारुको घरदेखी कारागार जोड्ने सडक कालोपत्रे गर्न १ करोड ४० लाख बजेट विनियोजन भएकोमा ९० लाख रुपैयाँमा निर्माण गरिएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर १, ४ र ५ मा (गाउँपालिका र वडा समेतको गरी) ४६ लाख रुपैयाँमा झण्डै १ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भएको छ ।

त्यस्तै बैजनाथ ६ को २८ घर, वडा नम्बर ८ को बिचलाईनमा नालीसहित सडक ग्राभेल गर्न ६० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ४५ लाख रुपैयाँमा सम्पन्न भएको छ । त्यसैगरी आधारभुत स्वास्थ्य केन्द्रको भवन ४५ लाख रुपैयाँमा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पुर्वाधार निर्माण तर्फ पक्की नाली १ किलोमिटर, बैजनाथ-८ र ७ मा ४० वटा धारा जडान, सिंचाई बोरिङ निर्माण, कल्भर्ट ७ वटा निर्माण, ग्राभेल बाटो ९ किलोमिटर, भवन ५ वटा, नयाँ बाटो ४ किलोमिटर, तरबार घेराउ ९ सय मिटर, तटबन्ध १० वटा, पर्खाल निर्माण ७ सय मिटर, सिंचाई कुलो ६ सय मिटर, ट्रस्ट निर्माण ५ वटा, खुल्ला ब्यायामशाला ६ वटा निर्माण गरिएको योजना शाखा प्रमुख नेपालीले बताए ।
सबै योजना गुणस्तरिय रुपले सम्पन्न भएको उहाँको दाबी छ । ‘गुणस्तर नियन्त्रणको काम लागत अनुमान तयार गर्दादेखी नै गरिन्छ,’ योजना शाखा प्रमुख नेपालीले भने, ‘योजना सञ्चालनको सुरुदेखी अन्त्यसम्म पटक-पटक गरिने अनुगमन पनि गुणस्तर नियन्त्रणको एउटा आधार हो ।’
गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर धर्मेन्द्र आचार्यका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्रे, ग्राभेल, स्कुलका भवन, खानेपानी, सिंचाई जस्ता काममा बजेट खर्च भएको छ । ‘यसवर्ष सानादेखी लिएर ठुला ठुला योजना धेरै सम्पन्न भएका छन्,’ इन्जिनियर आचार्यले भने, ‘खानेपानी, बाटोघाटो, भवन मर्मत, ट्रस, सार्वजनिक भवन, सिंचाई कुलो जस्ता योजनामा बजेट खर्च भएको छ ।’

गाउँपालिकाले नयाँ योजनासँगै पुराना सडक तथा बाटो स्तरउन्नतीमा पनि धेरै बजेट खर्च गरेको इन्जिनियर आचार्यले बताए । ‘समग्रमा हेर्ने हो भने स्तर उन्नती नै बढी छ, किनभने नयाँ ट्रयाक खोल्ने, पुराना बाटोलाई मर्मत गर्ने कार्य नै अगाडी छ,’ उनले भने, ‘हामीले कालोपत्रे गर्नुभन्दा अगाडी सम्पूर्ण बाटोहरु स्तरउन्नती गर्नुपर्ने भएको हुनाले तत्कालै स्तरउन्नती गर्ने, स्तरउन्नती गरे लगत्तै कालोपत्रे गर्दाखेरी त्यति टिकाउ नहुने भएको हुनाले एक आर्थिक वर्षमा स्तरउन्नती गर्ने अनि त्यो स्तरउन्नती गरेको बाटोलाई चाही अर्को आर्थिक वर्षमा चाही कालोपत्रे गर्ने अवधारणाका साथ हामीले त्यसरी काम अगाडी बढाएका छौं ।’
गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय स्थानीय सरकारले सामुहिक रुपमा विकास निर्माणको काम गर्दै आएकोमा कतिपय सर्बसाधारण जनतामा ब्यक्तिगत अपेक्षाहरु रहेको पाइएको बताउँछिन् । ‘स्थानीय सरकारले ब्यक्तिगत ईच्छा र अपेक्षा भन्दापनि हामीले सामुहिक रुपमा काम गर्ने क्रममा ब्यक्तिगत रुपमा पनि आफ्ना अपेक्षाहरु पुरा भईदिएको भए हुन्थ्यो, सरकारले त्यस्ता किसिमका कामहरु गरिदिएको भए हुन्थ्यो भन्ने जनताको अपेक्षा छ,’ उनले भनिन् ।
गाउँपालिकाको पुर्वाधार विकास समितिका संयोजक कमानसिंह सुनार गाउँपालिकामा क्रमिक रुपले विकासका पुर्वाधार निर्माण हुदै आएको बताउँछन् । ‘बैजनाथ गाउँपालिकामा समग्र रुपमा पुर्वाधारका कामहरु ठिक तरिकाले सम्पन्न भएका छन्,’ कार्यपालिका सदस्य समेत रहनु भएका संयोजक सुनारले भने, ‘बिद्यालयका भवनहरु बनेका छन्, सडक कालोपत्रे, ग्राभेल, नाला निर्माण जस्ता भौतिक पुर्वाधारका कामहरु थुप्रै भएका छन् ।’
पुर्वाधार निर्माणमा भएको कामको गुणस्तरलाई जाँच गरेर मात्र स्वीकृत गर्ने गरिएको उनले बताए । ‘स्टिमेट अनुसार भएको कामलाई नै हामीले पास गर्ने गरेका छौं, कामको गुणस्तरमा विशेष ख्याल गर्छौ,’ संयोजक सुनार भन्छन् । गाउँपालिकाका कार्यपालिका सदस्य एवम् वडा नम्बर ४ का वडाअध्यक्ष प्रेमबहादुर शाहीले पुर्वाधारका हिसाबले गाउँपालिकाले आवश्यकता अनुसार बजेट खर्च गर्दै आएको बताए । ‘गाउँपालिकाले वडागत रुपमा छुट्टै बजेट विनियोजन गर्छ, गाउँपालिकाले आफ्नो छुट्टै बजेट खर्च गर्छ,’ उनले भने ।
