बैजनाथ : गाउँपालिकाबाट चुस्त–दुरुस्त रुपले सेवा प्रवाह गर्नमा कर्मचारीको भूमिका महत्वपूर्ण रहन्छ । स्थानीय सरकारलाई सफल बनाउनमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य हुनुपर्छ । उनीहरुबीचको सम्बन्ध नङ र मासुको जस्तै रहनुपर्छ । जसले गर्दा सुशासन र पारदर्शितामा गाउँपालिका अब्बल रहन्छ ।
कार्य सम्पादन गर्दा पछिल्लो समयमा प्रविधिको प्रयोग गर्ने क्रम बढेको छ । प्रविधिको प्रयोगबाट बैजनाथ गाउँपालिकाको सेवा प्रवाहलाई ब्यवस्थित गरिदै लगिएको छ । कर्मचारी र सेवाग्राहीलाई सहज बनाउने गरी पछिल्लो समयमा प्रविधिको उच्चतम विकास भएको छ । गाउँपालिकाले पनि कर्मचारी प्रशासन चलाउन नयाँ–नयाँ प्रविधिको प्रयोग गरेको छ ।
गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्यका अनुसार प्रशासनिक संरचनाको हिसाबले बैजनाथमा अहिले गाउँपालिका र गाउँपालिका अन्र्तगत वडा कार्यालय, यसअन्र्तगत स्वास्थ्य संस्था तथा बिद्यालय लगायत सम्पूर्ण कार्यालय रहेका छन् । ‘गाउँपालिकाले कार्यालय समयलाई नियमितता गराउने, कर्मचारीहरु नियमित हुने, वडामा उपस्थितीका कुराहरु, अहिले इलेक्ट्रोनिक प्रविधिद्धारा उपस्थिती गराउने, सबै कुरालाई नियमित गराउँदै राम्रै ढंगले चलेको हामीले महसुस गरेका छौं,’ आचार्यले भने । गाउँपालिकाले कर्मचारीले गरेको कामको आधारमा मुल्यांकन गर्दै आएको छ ।
त्यस्ता कर्मचारीलाई सम्मान पनि गर्दै आएको छ । गाउँपालिकाले आन्तरिक मुल्यांकनका लागि सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कामलाई प्राथमिकतामा राखेको छ । प्रशासन प्रमुख आचार्य भन्छन्, ‘अहिले त कस्तो छ भने हाम्रो सबै मुल्यांकन हुन्छ, त्यसले गर्दाखेरी पनि हामीले यसभित्र सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, आन्तरिक परिक्षणहरु, यि सबै कुराहरुलाई लागुगर्नुपर्ने हुन्छ, त्यसैले यहाँभित्र अहिले सबै वडाको पनि सार्वजनिक सुनुवाई गर्ने, गाउँपालिकाले पनि सार्वजनिक सुनुवाई गर्ने यसरी अगाडी बढिरहेको छ ।’
गाउँपालिकाले कार्यालय सञ्चालनका लागि प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ । गाउँपालिकामा कर्मचारीका लागि इलेक्ट्रोनिक हाजिरी, सेवाग्राहीका लागि डिजिटल बोर्ड, सूचना पाटी, सिसी क्यामेरा जडान गरेर सेवा प्रवाहमा सुधार ल्याइएको छ । ‘वडा कार्यालय, स्वास्थ्य संस्था वा बिद्यालयमा भएको उपस्थिती संख्यालाई पालिकाबाट त्यसको अनुगमन गर्न सक्ने ब्यवस्था गरिएको छ, बिद्यालयको हकमा पनि गाउँपालिकामा बसेर त्यसको अनुगमन गर्ने, सिसी क्यामेराहरु मार्फत विभिन्न एप्स प्रयोग गर्ने, दर्ता, चलानी, अनलाईन सिस्टम यि सबै कुरा प्रयोग भएका छन्,’ आचार्य भन्छन् ।
यस्तै सेवाग्राहीका लागि सेवाग्राही प्रतिक्षालय निर्माण गरिएको छ । गाउँपालिका परिसरमै आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत एसी र शौचालय सुविधा सहितको प्रतिक्षालय निर्माण गरिएको हो । प्रशासन प्रमुख आचार्यका अनुसार अब आफ्नो काम ल्याएर आएका सेवाग्राहीहरु प्रतिक्षालयमा बस्ने र सम्बन्धित शाखामा फाइल पठाउन सक्नेछन् ।
बैजनाथ गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भुपाल पुनमगर पछिल्लो समयमा बढ्दो प्रविधिले गाउँपालिकाको सेवा प्रवाहमा सहजता ल्याएको बताउँछन् । ‘पछिल्लो समयमा गाउँपालिकामा नयाँ प्रविधि भित्रिएको छ, यसले गर्दा सेवा प्रवाहमा सहजता ल्याएको छ,’ उनी भन्छन् ।