बाँके(राप्ती सोनारी) : भौगोलिक रुपले अत्यन्तै ठुलो छ, राप्ती सोनारी गाउँपालिका । तथापी, पुर्वाधार निर्माणमा गाउँपालिकाले अग्रता लिइरहेको छ । संघियताको मर्म अनुरुप २०७४ सालमा गाउँपालिकामा पहिलो पटक जनप्रतिनिधी निर्वाचित भएर आएपछि पुर्वाधार निर्माण सम्बन्धी कामको ‘जिरो’ बाट थालनी गरियो ।
तत्कालिन जनप्रतिनिधीले पुर्वाधार निर्माणका खाका तयार गरे । तत्कालिन समयमा पुर्वाधारका केही कामहरु सम्पन्न भए । २०७९ सालमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधी निर्वाचित भएर आईसकेपछि पुर्वाधार निर्माणको कामलाई तीब्रता दिइयो । कुल ९ वटा वडा रहेको गाउँपालिकाभित्र हरेक गाउँ तथा टोलसम्म अहिले बाटो पुगेका छन् ।
सडकहरु ठाउँ–ठाउँमा स्तरउन्नती गरिएको छ । कतिपय सडकहरु कालोपत्रे गरिएको छ । कच्ची सडकलाई ग्राभेल गरिएको छ । हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने सडकलाई सुधार गरिएको छ । ठाउँ–ठाउँमा सडक पिसिसी, कचवे, नाला निर्माण, माटो पटान, भवन निर्माण लगायतका कामहरु गरिएको छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल ९ वटै वडालाई जोड्ने गरी सडक सञ्जाल बिस्तार गरिएको बताउँछन् । ‘हामीले सडक सञ्जाल बिस्तार गरेका छौं, पुर्वाधार निर्माण अन्तर्गत सडक बिस्तारका कामहरु गरेका छौं,’ उनले भने, ‘राप्ती सोनारी अस्पतालको १५ शैयाको अस्पताललाई पूर्णता दिएको छ, राप्ती सोनारी गाउँपालिकाको कोल्ड स्टोरमा ठेक्का लागिसकेको अवस्था छ ।’
गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु पुर्वाधार निर्माणको काम जनताको आवश्यकता अनुसार हुने गरेको बताउँछिन् । ‘पहिला ग्राभेल भएको ठाउँमा पिसिसी बनेको छ, कुनै ठाउँमा कल्भर्ट हाल्नुपर्नेछ, कतै नाली बन्नुपर्नेछ, कुनै स्कुलको भवन बन्नुपर्नेछ, कुनै स्कुलमा पर्खालको आवश्यकता छ, कतै खानेपानी, शौचालय, खेलमैदान देखी लिएर अन्य प्राविधिक धारका बिद्यालयमा केही संरचना बनाउन आईसिटी ल्याबहरु, प्रयोगशालाहरु यस्तै आवश्यकताहरु भइरहेका छन् र आवश्यकता अनुसार सकेसम्म सम्बोधन गर्ने गरिएको छ,’ उनी भन्छिन् ।
जनतालाई शुद्ध खानेपानी पुर्याउनका लागि पनि गाउँपालिकाले विशेष प्राथमिकता राखेको छ । ‘धारा धेरै बाँडियो, तर धाराले गर्दा सबै जनालाई पनि नपुग्ने र धाराको पानी खाएर आर्सनिक हुन्छ, त्यो पानी खाएर धेरै रोग लागेर धेरै पैसा खर्च हुने र कतिपय ब्यक्तिको ज्यान नै जाने अवस्था रहेको कारणले गर्दा हामीले विशेषगरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गर्नु भएको खानेपानी ट्यांकीको पानीलाई नै विस्तार गर्नेमा जोड दिइरहेका छौं,’ उपाध्यक्ष थारुले भनिन्, ‘जनतालाई शुद्ध खानेपानी प्रदान गर्न गाउँपालिकाले खानेपानी डिभिजन कार्यालय, प्रदेश र संघ सरकारसँग सहयोग लिइरहेको छ ।’
पुर्वाधारमा तिब्रता, गुणस्तरमा प्रतिवद्धता
पुर्वाधार निर्माण कार्यलाई जति तिब्रता दिइएको छ, गुणस्तर कायम गर्नमा पनि प्रतिवद्धता गरिएको छ । निर्माण गर्दा हुन सक्ने अनियमितता, कमजोर गुणस्तरलाई मध्यनजर गर्दै अनुगमनलाई तीब्रता दिइएको छ । गाउँपालिकाले विशेषगरी तीन चरणमा अनुगमन कार्य गर्दै आएको छ । प्राविधिक शाखाका अनुसार पहिलो चरणमा अनुगमन गर्दै गर्दा जुन ठाउँमा गाउँपालिका वा वडाले बजेट छुट्याएको छ, त्यस ठाउँमा त्यो काम गर्न आवश्यक हो कि होईन भनेर पहिचान गरिन्छ ।
पहिचान भईसकेपछि त्यसलाई मध्यम चरणमा कामको अवस्था र गुणस्तर हेरिन्छ । अन्तिम चरणमा निर्माण ब्यवसायी वा टोल विकास संस्थाले गरेको कामको गुणस्तर कस्तो आयो ? भन्ने विषयमा प्राविधिक, योजना शाखा र अनुगमन समितिका सदस्य र पुर्वाधार विकास समितिका संयोजक तथा आवश्यकताका आधारमा राजनीतिक दल र पत्रकारलाई पनि समावेश गरेर अनुगमन गरिन्छ ।
कतै बिग्रेको वा गुणस्तरहिन काम भएको पाइएमा टोल विकास संस्था वा निर्माण ब्यवसायीलाई धरौटी रकमबाट मर्मत सम्भार गर्न लगाउने ब्यवस्था छ । राप्ती सोनारीमा अहिलेसम्म गुणस्तरिय काम नै भएको प्राविधिक शाखाले जनाएको छ । ‘सबै विकास निर्माणका कामहरु ठिक छन भन्ने पनि हुदैन, ठिक छैन भन्ने पनि हुदैन, त्यसको गुणस्तर जाँच गरिन्छ, त्यो गुणस्तर जाँच गर्दै गर्दा कतिपय संरचनाहरु अलिकति चित्त नबुझ्दो भएको हुनाले त्यस्ता फाईल फेरी अध्ययन गरेर अगाडी बढाइने गरिएको छ, काम गर्दा दवाव आउँछन्, यसमा खासै गाह्रो अप्ठ्यारो मान्ने कुरा हुदैन,’ उपाध्यक्ष थारु भन्छिन् ।
गाउँपालिकाको पुर्वाधार विकास समितिका संयोजक केशव दमाईले आर्थिक वर्ष २०८१/०८२ मा सडक कालोपत्रे, पिसिसी, कचवे, नाला निर्माण, माटो पटान, भवन जस्ता काम गरिएको बताए । ‘जहाँ पुर्वाधार निर्माणका काम भएका छन्, त्यहाँ अनुगमन गरेर मात्र योजनालाई पूर्णता दिएका छौं,’ उनले भने । गाउँपालिकाले पुर्वाधार निर्माणलाई विशेष जोड दिएको बताए ।
गाउँपालिकाले गरेका जतिपनि पुर्वाधार निर्माणका काममा गुणस्तरलाई विशेष ध्यान दिइएको छ । गाउँपालिकाको एउटा वडादेखी अर्को वडासम्म सहज रुपले आवत–जावत गर्न सक्ने गरी सडक तथा बाटो निर्माण गरिएको छ । नागरिकमैत्री सडक निर्माणले गाउँपालिकाबासीहरुलाई ठुलो राहत मिलेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीका अनुसार अघिल्ला वर्ष हुन नसकेका कालोपत्रेलाई यसवर्ष सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि (वडाको समेत) १३ करोड २९ लाख ८८ हजार ५ सय रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट मुख्य पुर्वाधारका कामहरु भएका छन् । गाउँपालिकाको प्राविधिक शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ मा तीन हजार ९८ मिटर कालोपत्रे सम्पन्न भएको छ ।
यस्तै २ हजार ८ सय ६५ मिटर कालोपत्रे सडक निर्माणाधिन अवस्थामा छ । यो बहुवर्षे योजना हो । आगामी आर्थिक वर्ष २०८२/०८३ मा उक्त कालोपत्रे सम्पन्न गरिनेछ । यसैगरी विभिन्न वडामा गरेर ६ सय ८ मिटर बाटो ग्राभेल गरिएको छ । गाउँपालिकाले २ हजार ३ सय ८५ मिटर आरसिसीसहितको पक्की नाली र १ हजार मिटर ईट्टाको नाली निर्माण कार्य सम्पन्न गरेको छ ।

विभिन्न ठाउँमा रहेका बाटोलाई सुधार गर्दै १ हजार ३ सय ४९ मिटर बाटो पिसिसी गरिएको छ । गाउँपालिकाले भवनको आवश्यकतालाई मध्यनजर गर्दै २ वटा वडामा नयाँ भवन निर्माण कार्य सम्पन्न गरेको छ । जस अन्तर्गत राप्ती सोनारीको वडा नम्बर ७ मा फत्तेपुर प्रहरी चौकीको भवन निर्माण र वडा नम्बर ८ मा सभाहल निर्माण गरेको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न नागरिकका लागि आवास निर्माण कार्यक्रम अन्र्तगत ९ वटै वडामा ५२ वटा आवास बनाइएको छ । उक्त आवास निर्माण सम्पन्न भएर पनि हस्तान्तरण गरिसकिएको छ । भौतिक पुर्वाधारका हिसाबले दयनीय अवस्थामा रहेका सामुदायिक बिद्यालयलाई गाउँपालिकाले भवन बनाइदिएको छ । राप्ती सोनारीको दिपप्रकाश माध्यामिक बिद्यालय, नेरा माध्यामिक बिद्यालय धामपुर र लक्ष्मी माध्यामिक बिद्यालय मदुईका लागि शौचालयसहितको भवन निर्माण गरिएको हो । फोहोरमैला ब्यवस्थापन गर्नका लागि डम्पिङ साइड निर्माणको कामलाई अगाडी बढाइएको छ । राप्ती सोनारीको वडा नम्बर ९ मा डम्पिङ साइड निर्माणको काम सम्पन्न गरिएको छ ।
गाउँपालिकाको योजना शाखा प्रमुख राजेश बोहराका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जुन गाउँपालिकाबाट कुल सम्झौता भएका योजना (वडा र पालिका समेत) एक सय ६४ वटा रहेका छन् । ‘वार्षिक स्वीकृत योजना तथा कार्यक्रमलाई गाउँपालिकाको एउटा कार्यविधि, नीति, ऐन अनुसार कार्ययोजना बनाएर अगाडी बढेका हुन्छौं र सो कार्ययोजना अनुसार कार्यान्वयन गर्ने निकायलाई हामीले चाही उचित ढंगले प्रशिक्षण गराएर कुन संस्थाबाट काम सम्पन्न गर्ने भन्ने कानुनी प्रक्रियालाई मध्यनजर गर्दै र कार्यालयको काम कारबाहीलाई पनि प्रभावकारी, पारदर्शी ढंगले अगाडी बढाउने हाम्रो उद्देश्य हुन्छ,’ उनले भने, ‘हामीले गाउँपालिकाभित्रका सम्पूर्ण ९ वटै वडाबाट विनियोजित भएको बजेट र पालिकाबाट विनियोजित भएको बजेट अन्तरर्गतका योजना तथा कार्यक्रमलाई सबै संघ, संस्था देखीलिएर सम्पूर्ण लाभग्राही समुदायसँग सहकार्य गर्दै योजनालाई सहज ढंगले कार्यान्वयन गर्ने भन्ने एउटा हाम्रो जुन लक्ष्य छ, सो अनुसार चाही हामीले अगाडी बढेर काम गरेको अवस्था छ ।’

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख, इन्जिनियर एथेष्ट पुनमगर पुर्वाधार निर्माणको काम गर्दा गुणस्तरमा विशेष ख्याल गर्ने गरेको बताउँछन् । ‘जतिपनि पुर्वाधार निर्माण हुन्छन्, तिनीहरुको गुणस्तर परिक्षण गर्छौ, त्यसका लागि हामीसँग केही उपकरण पनि छन्,’ उनले भने, ‘फिल्डमा खटिने प्राविधिकहरुले पनि समय–समयमा निरीक्षण गरेर गुणस्तरमा ध्यान दिनुहुन्छ ।’
पुर्वाधार निर्माणको काम गुणस्तरिय गराउन उपाध्यक्षको संयोजकत्वमा पनि छुट्टै अनुगमन समिति रहेको छ । उक्त समितिले फिल्डमै पुगेर अनुगमन गर्ने र कमी, कमजोरी भेटिएमा सुधार गर्न लगाउँछ । गाउँपालिकाका प्राविधिक दुर्गा केसीले प्रायः कामहरु गुणस्तरिय रुपले भएको बताए । ‘कुनैपनि पुर्वाधारको गुणस्तर परीक्षण गर्न ‘हेमोटेस्ट’ र ‘कोर कटर’ प्रयोग गर्छौ, ल्याब जाँचका लागि बाहिर पठाउँछौं,’ उनले भने ।