नेपालगन्ज : खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ । रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो ।
रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताइन् । उनले भनिन्, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् ।
हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं ।’ अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने रंगशाला नेपाल मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक कमल खत्रीले बताए ।
अवार्डसँगै पुरस्कृत हुनेलाई नगद र अन्य उपहार प्रदान गरिनेछ । लुम्बिनी स्पोर्टस् अवार्डलाई सफल बनाउनको लागि खेलकुदका निकाय, संघ,संस्था, विभिन्न कम्पनी, कर्पोरेट संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने रंगशाला नेपाल मिडिया प्रा.लि.का निर्देशक खत्रीले बताए ।
अवार्ड कार्यक्रमले लुम्बिनी प्रदेशका खेलाडीको हौसला बढाउँदैं उहाँहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सफलता हासिल गर्न अभिप्रेरणा प्रदान गर्ने आयोजकले विश्वास लिएको खत्रीले बताए ।