नेपालगन्ज : ११ औं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ । यही मंसिर ६ गते नेपालगन्जमा उक्त म्याराथन हुदैछ । नेपालगन्जमा बुधबार आयोजित पत्रकार भेटघाटमा आयोजक धारा नेपालगन्ज म्याराथनले तयारी पूरा भएको जानकारी दिएको हो । धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले म्याराथनका विजेताले दुई लाख रुपैयाँ पुरस्कर पाउने जानकारी दिए ।
उनका अनुसार महिलातर्फको हाफ म्याराथन विजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीका अनुसार, म्याराथनमा दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौंलाई १० हजार पुरस्कार राखिएको छ । यस्तै शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी ४५ वर्षमाथिको भेट्रान दौडको शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ । महिला हाफ म्याराथानमा दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौलाई १० हजार पुरस्कार राखिएको छ । १० किलोमिटर खुल्ला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई क्रमशस् २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ ।
५ किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा दौडका शीर्ष तीन जनालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार, ह्वीलचियरतर्फका तीन जनालाई ५ हजार, ३ हजार र २ हजार, किड्स रनका सम्पूर्णलाई नगद तथा कर्पोरेट रन तर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गरिनेछ ।
म्याराथनमा यसपालीदेखि एक स्कुललाई नेपालगन्ज ट्रफीु प्रदान गरिने, म्याराथनमा रोमान्चकता थप्न फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयनको तयारी गरिएको छ । यसैबीच, म्याराथन अघि नेपालगन्ज कनक्लेव हुने भएको छ । कनक्लेवका निर्देशक जनक नेपालका अनुसार, कनक्लेवमा महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसी लगायत वक्ताहरु रहने भएका छन् ।