बाँके(नरैनापुर) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा बिहीबारबाट क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । नरैनापुरस्थित ५ नम्बर वडा कार्यालयको बाँकेको सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर–५ बाँकेको आयोजनामा ‘वडाअध्यक्ष क्रिकेट कप’ प्रतियोगिता–२०८२ सञ्चालन भएको हो ।
प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् नरैनापुर–५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले उद्घाटन गरेका छन् । नरैनापुर–५ मटेहियास्थित महेन्द्र माध्यामिक बिद्यालयको खेल मैदान मोतीपुरमा प्रतियोगिताका खेलहरु खेलाइएको छ ।
दर्पण विकास नेपालका अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथी एवम् वडाअध्यक्ष मौर्य, विशिष्ट अतिथीहरु नरैनापुर वडा नम्बर ६ वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, वडा नम्बर ४ का वडाअध्यक्ष मनोजकुमार शर्मा, ईलाका प्रहरी कार्यालय भगवानपूरका प्रहरी निरीक्षक गणेशराज उप्रेती र नरैनापुर–५ का युवा समाजसेवी सुजित कुमार तिवारी लगायत उपस्थित भएका थिए ।

उद्घाटन शत्रमा प्रमुख अतिथी मौर्यले यस क्षेत्रको खेल विकासका लागि आफ्नो वडाबाट रकम विनियोजन गरेर ६ वटै वडाका खेलाडीलाई खेल खेल्ने अवसर प्रदान गरिएको बताए । सबै वडाले खेल विकासका तथा युवाहरुको क्षमता बढाउनका लागि समय–समयमा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए ।
सो क्रममा प्रमुख अतिथी मौर्यले रिबन काटेर ब्याटिङ, प्रहरी निरीक्षक उप्रेतीले बलिङ र वडा नम्बर ६ का वडाअध्यक्ष मौर्यले किपिङ गरी प्रतियोगिता उद्घाटन गरिएको थियो । प्रतियोगिताको उद्घाटन शत्र संयोजक अरुण यादव दर्पणले सञ्चालन गरेका थिए । प्रतियोगितामा नरैनापुरको वडा नम्बर १ देखि ६ सम्मका जम्मा १० वटा टिमले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् ।
जस अनुसार नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर बाँके, लेजेन्ड क्रिकेट समूह नरैनापुर, खलिफा नूरअहमद क्रिकेट क्लब नरैनापुर–२ गंगापुर, गोल्डेन क्रिकेट क्लब नरैनापुर–१ बनियागाउँ, जमुनी सुपर किङ क्रिकेट क्लब नरैनापुर–६ जमुनी, खान क्रिकेट क्लब नरैनापुर–३ गेगली, भगवानपुर रोयल्स क्रिकेट क्लब नरैनापुर–५ भगवानपुर, श्री हरे–हरे क्रिकेट क्लब नरैनापुर–१ कटकुइया, मटेहिया क्रिकेट क्लब नरैनापुर–५ मटेहिया र महेन्द्र मावि जेन–जी स्पोट्र्स क्लब नरैनापुर–५ मटेहिया रहेका छन् ।

उद्घाटन खेलमा आयोजक टिम मटेहिया क्रिकेट क्लब नरैनापुर–५ मटेहिया र महेन्द्र मावि जेन–जी क्रिकेट क्लब मटेहिया बीच भएको प्रतिस्पर्धामा जेन–जीले टस जितेर फिल्डिङ रोजेको थियो, भने सुरुवाती पहिलो इनिङमा मटेहिया क्रिकेट क्लबले जेन–जीलाई १ सय ११ बनाई १ सय १२ रनको लक्ष्य दिएको थियो । जसमा मटेहिया क्रिकेट क्लबले १२ ओभरको खेलमा जेन–जी लाई ८१ रनमै अलआउट गरी ३० रनले विजयी हासिल गरेको थियो । पहिलो खेलमा म्यान अफ द म्याच मटेहिया किकेट क्लबका दाउद खानले हात पारे ।
यस्तै खलिफा नूर अहमद क्रिकेट क्लब नरैनापुर–२ गंगापुर र गोल्डेन क्रिकेट क्लब बनियागाउँ बीचको दोस्रो खेलमा खलिफाले टस जितेर फिल्डिङ रोजेको थियो, भने गोल्डेन बनियागाउँले १२ ओभरको खेलमा १ सय ४ रनको लक्ष्य दिएकोमा जवाफी ब्याटिङ गर्दै खलिफा क्रिकेट क्लबले ९ ओबरमा ४ विकेटको क्षतिमा ६ विकेटले उक्त लक्ष्य पुरा गर्दै जित हासिल गरी एक चरण अगाडी बढेको छ र उक्त खेलमा खलिफा नूर अहमद क्रिकेट क्लबका कप्तान समिन खाँले ६५ प्लस रन बनाएर म्यान अफ द म्याच हात पारे ।
बिहीबार भएका दुई वटा खेलको स्कोरिङमा सुजित तिवारी र कुल कृष्णकान्त श्रीवास्तव, कमेंट्रीमा अरु दर्पण र रमजान अन्सारी र अम्पायरिङमा राप्ती सोनारी–७ का सबिन पुन र घन श्याम तिवारीले सहजीकरण गरेका थिए । इलाका प्रहरी कार्यालयले शान्ति सुरक्षा र स्वास्थ्य चौकी मटेहियाका स्वास्थ्यकर्मी अमन चौधरीले प्राथमिक उपचारको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा शुक्रबार (भोलि) बिहान ९ बजे खान क्रिकेट क्लब नरैनापुर–३ गेगलीका बिरुद्ध जमुनी सुपर किंङ नरैनापुर–६ जमुनीबीच बिहान ११ः३० बजे तथा भगवानपुर रोयल्स क्रिकेट क्लब नरैनापुर–५ भगवानपुरका बिरुद्ध श्री हरे–हरे क्रिकेट क्लब नरैनापुर–१ कटकुइयाबीच २ः३० बजे नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर बाँके र लेजेन्ड क्रिकेट समूह प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले ११ हजार र उप बिजेताले ५ हजार रुपैयाँ हात पार्नेछन् ।
