(बाँके) खजुरा : खजुरामा दोस्रो नेशनल प्याब्सन पालिका स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलिदेखी सुरु हुने भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन ) खजुराको आयोजनामा मंसिर १८ देखि २० सम्म सम्पन्न हुने गरी रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरिन लागेको हो ।
खजुरा ४ डि गाउँमा रहेको मिनी रंगशालामा हुने प्रतियोगितामा खजुराका ११ विद्यालयले सहभागिता जनाएका छन् । प्याब्सन खजुराका अध्यक्ष कृष्ण भण्डारीले ५ सय विद्यार्थी सहभागी हुने गरी तयारी गरिएको जानकारी दिए ।
प्रतियोगितामा पूर्व प्राथमिक तहका खेलहरु बल काउन्ट, कुर्सी दौड, १०० मीटर दौड हुनेछन् । जसमा ६६ खेलाडीले भाग लिनेछन् । यस्तै, कक्षा १ देखि ३ सम्म चम्चा दौड, गणित दौड हुनेछन् । यसमा ४४ जना विद्यार्थी सहभागी हुनेछन् ।
कक्षा १ देखि ५ सम्म (छात्र - छात्रा) तर्फ १०० मीटर दौड, रिले दौड १०० × ४ , लङजम्प प्रतियोगिता हुने र उक्त खेलमा १३२ जना विद्यार्थी खेलाडी सहभागी हुने एन प्याब्सन खजुराका अध्यक्ष भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका २५० जना छात्र छात्रा बीच १०० मीटर दौड, रिले १०० × ४, सटपट, ज्यक्लिङ थ्रो र लङ्गजम्प खेलमा सहभागिता जनाउने छन् ।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थी खेलाडी बीच भलिबल प्रतियोगिता हुने र अण्डर १२ छात्र फुटबल प्रतियोगिता समेत गरिने अध्यक्ष भण्डारीले जनाए । प्रतियोगिताले खजुराको खेल विकासमा थप इटा थपिने विश्वास लिएको आयोजकले जनाएको छ ।