खजुरा : बाँकेको खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आठौं अन्तर बिद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । खजुरा-४ को मिनी रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले खजुरालाई खेलकुदको उर्वरभुमि बनाउन लागेको बताए ।
उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष विकले खेलकुदले सबैलाई जोड्ने र चिनाउने कार्य गरेकाले यसमा थप लगानी बढाइएको जनाए । उनले रनिङ शिल्ड मार्फत खजुरालाई चिनाउन सकिने उल्लेख गरे । रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक विकले खजुराले अब्बल खेलाडीहरु प्रस्तुत गरिरहेको बताए ।
शुक्रबार एक भव्य समारोहका विच शुरु भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले खेल खेल्दा स्वास्थ्य मात्र नभई समुदाय, देशकै फाइदा गर्ने बताए । खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले खेलकुद नै खजुराको पहिचान बनेको बताउँदै पछिल्ला दिनमा खेल गतिविधि गर्वगर्न लाएक रहेको बताइन ।
खजुरा गाउँपालिकाको खेलकुद विकास परिषदको आयोजना तथा ज्ञानोदय नमुना माविको व्यवस्थापन तथा सन्चालनमा चार दिन सम्म चल्ने मेयर रनिङ शिल्डको उद्घाटनको दिन केहि खेलहरु सन्चालन गरिएका छन । विद्यालयकै तर्फबाट जाती जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुनेगरि नृत्य, झाँकी तथा आकर्षक पिटिको प्रस्तुती रहेको थियो । मार्चपासमा खजुराका अधिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।

ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता सनचालन गरिएको जनाए । प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भैरहेको सचिवालय संम्योजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए ।
आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तहमा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए ।
शुक्रबार विहानै देखि खेलहरु सन्चालन गरिएको थियो । दिनको १ बजे उद्घाटन समारोह अघि भलिबल पुरुष तर्फका खेलहरु, कपड्डी महिला, एथलेटिक्स तर्फ दौडका हिट्स सम्पन्न भएको फिल्ड मार्सल भण्डारीले जनाए । भलिबल तर्फ भएको पहिलो खेलमा नेरामावि मनकामनापुरलाई सोझो सेटमा हराउदै जनता मावि विजयी भएको थियो ।

यस्तै, धुव्रतारा विद्या मन्दिर लाई हराउदै पशुपति मावि घियाले विजयी बन्यो । मैटहवा मावि र जनसेवा मावि विच भएको भलिबल खेलमा मैटहवा विजयी बनेकोमा मैटहवा मावि र जेनिथ माविको प्रतिश्पर्दा हुदाँ जेनिथ विजयी भयो । उता जनकल्याण मावि शान्तिनगर संगको खेलमा अमर मावि विजयी भयो । योगिनी मावि र सनलाईट ई.मि. विच सन्चालन भएको खेलमा योगिनी विजयी बन्यो ।
भानु मावि र इन्ट्रिग्रेटेड एकेडेमी र भानु मावि विचमा भएको खेलमा इन्ट्रिग्रेटेड विजयी बनेको थियो भने लगतै अरुणोदय मावि संग भएको प्रतिश्पर्दामा अरुणोदय विजयी भयो । गुराँस चाईल्डहुड एकेडेमीले जन कल्याण मावि बद्रिपुरलाई हरायो र भविबल खेलमै ज्ञानोदय नमुना माविलाई हराउदै आदर्श मावि विजयी बनेको प्रचार संयोजक खगेन्द्र दाहालले बताए । शनिबार हुने केहि खेलहरु फाइनल हुदैजाने खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले जानकारी दिए । उद्घाटन कार्यक्रममा शिक्षा खेलकुद संग सम्बद्ध अतिथीहरुले मन्तव्य राखेका थिए ।

