नेपालगन्ज : नेपालगन्जमा हुन लागेको 'दोस्रो मेयर कप हाप्किडो प्रतियोगिता-२०८२' को तयारी पुरा भएको छ । नेपाल हाप्किडो संघको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित स्वास्थ्य चौकी मैदानमा मंगलबार (भोलि) देखी प्रतियोेगिता हुन लागेको हो । प्रतियोगिता दुई दिनसम्म चल्नेछ । यसअघि प्रतियोगिता मंसिर २७ र २८ गते गर्ने तय भएपनि समय अभावका कारण पछाडी सारिएको हो ।
नेपालगन्जमा सोमबार आयोजित पत्रकार भेटघाटमा आयोजक पक्षले तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिताको प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले औपचारिक रुपमा उद्घाटन गर्नेछन् । बाँके र दाङका बिद्यार्थीलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक गंगा कुमारी पुनले जानकारी दिइन् ।
प्रतियोगिताबाट बिद्यालय स्तरमा खेलकुदको नयाँ उत्साह, उर्जा र राष्ट्रिय एकताको भावना फैलाउँदै नेपालको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको उनले बताइन् । नेपालमा हाप्किडो खेललाई बिद्यालय स्तरबाटै संस्थागत गर्दै जिल्लाका साथै राष्ट्रिय स्तरमा सशक्त बनाउन र खेलकुदको सँस्कृतिलाई सुदृढ बनाउनु प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने १५ भन्दा बढी बिद्यालयका टिमहरु सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा २ सय भन्दा बढी बिद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक पक्षका अनुसार प्रतियोगितामा ४ वटा डोजाङबीच प्रतिस्पर्धा हुने र छात्र/छात्रा खेलाडीहरु सहभागी हुनेछन् । जसमा तौल समूह र आयु वर्ग अनुसार ब्यक्तिगत तथा समुहगत प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तरगत फाइटिङ, सेल्फ डिफेन्स डेमोन्स्ट्रेसन, स्पारिङ र टेक्निकल फर्म लगायतका बिधाहरु समावेश गरिएको । प्रतियोगिताका माध्यमबाट बिद्यार्थीहरुले आत्मरक्षा, शारीरिक क्षमता र मानसिक सदृढता र आत्मविश्वास अभिवृद्धि गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिता समापन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी, प्रशिक्षक तथा टिमहरुलाई नगद सहित ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारको खर्च नेपाल हाप्किडो संघका केन्द्रिय उपमहासचिव मोहम्मद मोहसिन हल्वाईले ब्यक्तिगत रुपमा ब्यहोरेका छन् ।
पत्रकार भेटघाटमा संघका केन्द्रिय उपमहासचिव हल्वाईले दोस्रो मेयर कप हाप्किडो प्रतियोगिता सञ्चालन गर्दै गर्दा आर्थिक रुपले केही समस्या भएको बताउँदै खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारको जिम्मा आफुले लिएको जानकारी दिए । पछिल्लो समयमा प्रतियोगिता नियमित रुपले हुँदा हाप्किडो खेलप्रति खेलाडीको आर्कषण बढ्दै गएको उनले बताए ।
जिल्लामा प्रतियोगिता नियमित रुपले हुँदा केन्द्रिय स्तरका प्रतियोगिता गर्न आफुहरुलाई हौसला मिलेको हल्वाईले सुनाए । केन्द्रिय उपमहासचिव हल्वाईका अनुसार आगामी माघ महिनाको पहिलो साता नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो प्रतियोगिता आयोजना गर्ने तयारी रहेको छ ।