नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकाले छनोट गरेका ‘नगर प्रहरी’का लागि आधारभुत तालिम सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता सँगको सहकार्य तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा नगर प्रहरी आधारभुत तालिम सुरु गरिएको हो ।
स्थानीय सरकार कार्य सञ्चालन ऐन, २०७४ मा भएको ब्यवस्था अनुसार गाउँपालिकाले १ जना नगर प्रहरी सहायक निरीक्षक, १ जना नगर प्रहरी हवल्दार र ७ जना नगर प्रहरी जवान छनोट गरेको थियो । आगामी १५ दिनसम्म सञ्चालन हुने तालिमको प्रथम प्रवचन कार्यक्रमको बिहीबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले उद्घाटन गरेका हुन् ।
सो क्रममा सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताका समादेशक एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बम, विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्याय, लेखा अधिकृत पूर्णप्रसाद जैसी, सशस्त्र प्रहरी नायव उपरीक्षकहरु, सशस्त्र प्रहरी निरीक्षकहरु लगायतको उपस्थिती रहेको थियो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाही र उपाध्यक्ष रोकायले स्थानीय सरकारको आफ्नै नगर प्रहरी भएपछि कार्य सम्पादन गर्नमा धेरै सहज हुने विश्वास ब्यक्त गरे ।
शिक्षालयका अनुसार १५ दिनसम्म प्रशिक्षार्थीहरुलाई पेशागत ज्ञान, क्षमता अभिवृद्धि गराउन, अग्नि नियन्त्रण, आपतकालिन उद्धार, अतिथी सत्कार, ड्रिल, भूकम्प, कानून, मानव अधिकार, भिआईपी सुरक्षा, हुल तथा दंगा ब्यवस्थापन, कार्यालय सुरक्षा तथा विविध विषयहरुमा ब्यवस्थित ढंगबाट तालिम सञ्चालन गराउनको लागि सशस्त्र प्रहरी बल नेपालमा उपलब्ध लेक्चर, प्रेशी, पावर प्वाईन्ट, डेमोस्ट्रेसन, छलफल र अभ्यासमार्फत तालिम प्रदान गरिनेछ ।
