नेपालगन्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको आयोजनामा सम्पन्न चौथो जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगिताको उपाधि युनाइटेड एजुकेसन एकेडेमीले जितेको छ।
खजुरारोडस्थित होटल पौवामा शनिवार आयोजित प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै युनाइटेड प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रथम स्थान प्राप्त गरेको युनाइटेड एजुकेसन एकेडेमीले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी जनसेवा सेकेन्डरी स्कुल द्वितीय हुँदै २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय हुँदै १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भए।
रामजानकी मावि, स्प्रिङ डेल एकेडेमी र नेपालगन्ज सेन्ट जेभियर सान्तवना भएका छन्। सान्तवना हुने विद्यालयहरुले जनही ५ हजार ५५० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा विजयी हुने विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धनसूदन चौलागाइँ, विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य एकनारायण पौडेल लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए।
चर्चित मोडेल तथा नायिका अञ्जली अधिकारी र स्मृति तिमिल्सेनाले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम संयोजक कमलेश शाहले जानकारी दिए। उद्घाटन सत्रमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चौलागाइँले यस्ता प्रतियोगिताले बालबालिकामा रहेको अतिरिक्त प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
विद्यालयहरूले किताबी ज्ञानलाई मात्र प्राथमिकता नदिई विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान र विकास गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । प्याब्सनका केन्द्रीय सदस्य पौडेलले निजी विद्यालयहरुले विद्यार्थीहरूको अतिरिक्त प्रतिभा पहिचानलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै त्यसको पुष्टि प्याब्सन बाँकेको नृत्य प्रतियोगिताले गरेको बताए।
प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रष्फुटनका लागि प्याब्सनले नियमित रुपमा नृत्य प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय कला र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सहसचिव राजेन्द्रकुमार आचार्य, प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम प्याब्सन बाँकेका सचिव लक्ष्मण सिंहले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष शरदचन्द्र रावलले राखेको जिल्ला कोषाध्यक्ष प्रवीण गिरीले जानकारी दिए ।