नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकामा प्रथम सृजना कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सृजना युवा स्पोट्र्स क्लब राप्ती सोनारी-५ को आयोजनामा यही पुस २५ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ ।
‘प्राकृतिक स्रोत र वन्यजन्तुको संरक्षण गरौँ, पर्यटन प्रवद्र्धनका निम्ति प्रथम सृजना कप फुटबल प्रतियोगिता भव्य रूपमा सफल पारौं’ भन्ने नारासहित राप्ती सोनारी-५ चिलहरियास्थित राप्ती सोनारी रंगशालामा प्रतियोगिता हुन लागेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबले दिएको जानकारी अनुसार प्रतियोगितामा गाउँपालिका अन्तर्गतका विभिन्न वडाका १४ वटा फुटबल टिम सहभागी हुनेछन् । प्रतियोगितामा करिब १८८ जना खेलाडी प्रत्यक्ष रूपमा मैदान उत्रिनेछन् । प्रत्येक टिममा राप्ती सोनारी बाहिरका ४ जना खेलाडी अनिवार्य रूपमा समावेश गरिनेछ ।
नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने सृजना युवा स्पोट्र्स क्लबका अध्यक्ष जामान सिंह खत्रीले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समिति राप्ती सोनारी-५ रहेको छ ।
सह-प्रायोजकमा पावर प्वाइन्ट नेपाल प्रा.लि. कुपन्डोल ललितपुर, प्रायोजकमा पिस थिंक एजुकेशन कन्सल्टेन्सी, सगरमाथा इङ्लिस बोर्डिङ स्कुल नेपालगन्ज तथा देश-विदेशमा रहेका ४५ जना सहयोगी दाताहरू रहेका छन् । प्रतियोगितामा करिब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करिव दुई लाख रुपैयाँ बराबरको आर्थिक सहयोग जुटिसकेको अध्यक्ष खत्रीले बताए ।
प्रतियोगितामा सहभागी हुने क्लबहरूमा बुद्धचोक-११ लाईन्स क्लब बैजापुर, सृजना युवा स्पोट्र्स क्लब ‘ए’ र ‘बी’, न्यू जन परोपकारी क्लब निवुवाटार, रोयल जुरपानी, डल्फिन युवा क्लब टिकलीपुर, ध्रुवतारा युवा क्लब, राप्ती युवा क्लब(राप्ती सोनारी–३), त्रिशक्ति युवा क्लब हरिहरपुर, सोल्टी युवा क्लब गोरधुई, समाज सुधार युवा क्लब ललही, रोयल सहारा फत्तेपुर र मनकामना युवा क्लब धामपुर रहेका छन् ।
फाइनल खेलको दिन दुई महिला फुटबल टिम-हरिहरपुर र सृजना युवा स्पोट्र्स क्लब बीच विशेष मैत्रीपूर्ण खेल पनि आयोजना गरिनेछ । साथै प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट गोलकिपर, इमर्जिङ प्लेयर, बेस्ट स्कोर लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पुस २५ गते शुक्रबार बिहान ११ बजे प्रतियोगिताको उद्घाटनअघि स्थानीय समुदायको संस्कृति झल्किने सांस्कृतिक झाँकी, बाजागाजासहित चिलहरिया र विनौना परिक्रमा गर्दै रंगशालामा प्रवेश गरिने क्लबका सचिव निरेश बुढामगरले जानकारी दिए ।दर्शक सहभागिता बढाउँदै खेल पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगितामा प्रत्येक टिममा ४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई समेत समावेश गरिएको आयोजकको भनाइ छ ।