नेपालगन्ज : राप्ती सोनारीमा सम्पन्न प्रथम सृजना कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मध्येकै सृजना युवा स्पोट्र्स क्लब ‘बी’ ले हात पारेको छ । फाइनल खेलमा सृजना युवा स्पोट्र्स क्लब ‘बी’ ले रोयल सहारा स्पोट्र्स क्लब फत्तेपुरलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि उचालेको हो ।
उपाधिसँगै सृजना युवा स्पोट्र्स क्लब ‘बी’ ले नगद ३० हजार रुपैयाँ, ट्रफी, गोल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको रोयल सहारा स्पोट्र्स क्लब फत्तेपुरले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम दिन महिला फुटबल प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित हरिहरपुर र सृजना युवा स्पोट्र्स क्लबबीच विशेष मैत्रीपूर्ण महिला फुटबल खेल समेत आयोजना गरिएको थियो । उक्त खेलमा महिला फुटबल टिम हरिहरपुर विजयी भएको थियो ।
व्यक्तिगत विधातर्फ सृजना युवा स्पोट्र्स क्लबका प्रकाश चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए भने क्लबकै क्षितिज थापामगर सर्वाधिक गोलकर्ता बने । क्षितिजले प्रतियोगिताभर चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै, सृजना युवा क्लबका बसन्त पुन उत्कृष्ट खेलाडी घोषित हुँदा रोयल सहारा युवा क्लब फत्तेपुरका कपिल पुन मगर उदयमान खेलाडी को उपाधि जित्न सफल भए ।
प्रतियोगिता समापन कार्यक्रममा राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष तेज बहादुर सुवेदी, स्थानीय समाजसेवी जंग बहादुर गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।
सृजना युवा स्पोट्र्स क्लब राप्ती सोनारी–५ को आयोजनामा राप्ती सोनारी रंगशालामा गत शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा राप्ती सोनारी गाउँपालिका अन्तर्गतका विभिन्न वडाका १४ वटा फुटबल टिम ले नकआउट प्रणालीमा प्रतिस्पर्धा गरेका थिए ।
सेमिफाइनल चरणमा रोयल सहारा स्पोट्र्स क्लब फत्तेपुरले राप्ती युथ क्लब राप्ती सोनारी–३ लाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने सृजना युवा स्पोट्र्स क्लब ‘बी’ ले रोयल स्पोट्र्स क्लब बालापुरलाई ३–२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
‘प्राकृतिक स्रोत र वन्यजन्तुको संरक्षण गरौँ, पर्यटन प्रवद्र्धनका निम्ति प्रथम सृजना कप फुटबल प्रतियोगिता भव्य रुपमा सफल पारौँ’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको मुख्य प्रायोजक सिद्धेश्वरी सामुदायिक वन उपभोक्ता समिति राप्ती सोनारी–५ रहेको थियो ।
सह–प्रायोजकमा पावर प्वाइन्ट नेपाल प्रा.लि. कुपन्डोल, ललितपुर रहेको थियो भने थिंक एजुकेशन कन्सल्टेन्सी कोहलपुर, सगरमाथा इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्ज लगायत देश–विदेशका ४५ भन्दा बढी सहयोगी दाताको सहयोगमा प्रतियोगिता सपलतापूर्वक सम्पन्न गरिएको आयोजक सृजना युवा स्पोट्र्स क्लबका अध्यक्ष जामान सिंह खत्री ले जानकारी दिए ।
दर्शक सहभागिता बढाउँदै खेल पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रत्येक टिममा चार जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी समावेश गरी खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर रंगशालामा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले स्थानीय खेलप्रेमीहरूको उत्साह र फुटबलप्रतिको आकर्षण झल्काएको छ ।