बाँके (बैजनाथ) : 'चौथो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय अन्तर विद्यालय खेलकुद प्रतियोगिता' आइतबार भब्य रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले एक समारोहका बीच बैजनाथ-६ लालपुरस्थित खेल मैदानमा उद्घाटन गरे ।
बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष शाहीले खेलकुद क्षेत्रको विकासलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको बताए । गाउँपालिका स्तरिय अन्तर विद्यालय खेलकुद प्रतियोगिताले हरेक वर्ष नयाँ खेलाडी उत्पादन गर्नमा सहयोग पुर्याउने विश्वास गरे ।
स्थानीय सरकारले उत्कृष्ठ खेलाडीको हौसला बढाउन सम्मान गर्दै आएको उनले बताए । प्रतियोगिता उद्घाटन कार्यक्रमको सभापतित्व गरेकी गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले हरेक वर्ष आयोजना हुने यस्ता प्रतियोगिताले बाल बालिकालाई खेलकुदमा लाग्न हौसला मिल्ने बताइन् ।
बालबालिकालाई खेलकुदसँग जोडेर खेलकुद क्षेत्रमा अगाडी बढाउन प्रतियोगिता महत्वपूर्ण रहने उपाध्यक्ष रोकायको भनाई छ । प्रतियोगिता उद्घाटनका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल उपाध्याय, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका खेलकुद विकास समितिका संयोजक लालबहादुर थारु, खेलकुद विकास समितिका पदाधिकारीहरु, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, खेल प्रशिक्षक, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, रेडक्रसकर्मी, अभिभावक, पत्रकार, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथी शाहीले झण्डोत्तोलन गरेका थिए । उद्घाटनका क्रममा प्रतियोगितामा सहभागी भएका बिभिन्न बिद्यालयका बिद्यार्थीले मार्च पास गरेका थिए, प्रमुख अतिथी शाहीप्रति सलामी अर्पण गरेका थिए । प्रतियोगितामा बैजनाथ गाउँपालिका क्षेत्रमा रहेका ४२ वटा सामुदायिक तथा संस्थागत बिद्यालय सहभागी भएपनि ४१ वटा बिद्यालयले मार्चपास गरेका थिए ।प्रतियोगिता उद्घाटन शत्रमा गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक शोभा ढकालले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन्, भने कार्यक्रम सञ्चालन लालबहादुर बोहराले गरेका थिए ।
यही माघ ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आधारभूत तहतर्फ छात्रा १ सय ४९ र छात्र १ सय ४८ गरी कुल २ सय ९७ जना विद्यार्थी खेलाडी सहभागी भएको बैजनाथ गाउँपालिका खेलकुद विकास समितिका संयोजक लालबहादुर थारुले जानकारी दिए । प्रतियोगितामा माध्यमिक विद्यालयतर्फ समग्र प्रथम हुने विद्यालयलाई नगद ४० हजार, द्वितिय हुनेलाई २५ हजार र तृर्तिय हुनेलाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै भलिबल, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद २० हजार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी आधारभूत र माध्यमिक तह दुवै तहको शिल्ड जित्ने विद्यालयका प्रशिक्षकलाई १० हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।














सम्बन्धित समाचार पढ्नुस् :
चौथो उप-प्रमुख कप खेलकुद प्रतियोगिताको सबै तयारी पूरा
चौथो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको तयारी तीब्र