बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरमा दोस्रो वडा कप फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । नरैनापुर–६ वटा कार्यालयको आर्थिक सहयोगमा दर्पण समाज विकास नेपाल बाँकेको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको प्रमुख अतिथी एवम् नरैनापुर–६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्यले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । दर्पण समाज विकास नेपाल बाँकेका अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन शत्र गरिएको थियो । प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मौर्यले नरैनापुरलाई खेल जगतमा अगाडी बढाउनका लागि नियमित रुपमा वडा कप गराउँदै आएको बताए ।
उद्घाटन कार्यक्रममा विशेष अतिथी एवम् इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक गणेशराज उप्रेती, अतिथी एवम् वडा सदस्य चुनमुन नाउँ, मायावती धोबी, वडा सचिव भारत राज गोराथोकी, कार्यालय सहायक सुजित तिवारी, जय किसान माध्यामिक बिद्यालय भोजपूरका प्रधानाध्यापक तिरथ राम मौर्य,नेरा मावि जमुनीका प्रधानाध्यापक अम्बर लाल यादव, पत्रकार विनय दिक्षित, सामाजसेवी मानबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिता उद्घाटन कार्यक्रम सञ्चालन संयोजक अरुण यादव दर्पणले गरेका थिए ।

प्रतियोगितामा नरैनापुर वडा नम्बर ६ का सन्तानेश्वर रोयल्स क्लब कोहला, मनकामना युवा क्लब कोहला, नेरा मावि जमुनी, रामपुर युवा क्लब रामपुर गरी ४ वटा टिम प्रतिस्पर्धामा उत्रेका छन् । प्रतियोगिताको पहिलो दिन सोमबार नेरा मावि जमुनीलाई र रामपुर युवा क्लबले ३–२ गोलले पराजित गरी विजय हासिल गरेको छ ।
यस्तै दोस्रो खेलमा श्री सन्तानेश्वर रोयल्स क्लब कोहलालाई मनकामना युवा क्लबले १० शुन्य गोले पराजित गर्यो । यसैगरी सोमबार नै भएको तेस्रो खेलमा श्री सन्तानेश्वर रोयल्स क्लब कोहलाले नेरा मावि जमुनीलाई ५ शुन्य गोलले पराजित गरेर आफ्नो विजयी यात्रा सुनिश्चित गर्यो । पहिलो दिनको खेलमा सर्बाधिक ४ गोल मनकामनाका शिशिर गुरुङले गरेका छन् ।
आयोजकका अनुसार मंगलबार(भोलि) बिहान रामपुर युवा क्लब र मनकामना युवा क्लब बीच दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगितामा नरैनापुर–६ का पूर्वखेलाडी छे बहादुर रानाले स्कोरिङ गर्दै फिल्ड मार्सलको भूमिका निर्वाह गरेका छन् ।

