नेपालगन्ज : नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई हरेक मतदाताका घर-घरमा पुगेर आफ्नो पक्षमा समर्थन जुटाउन अग्रसर भएका छन् । मतदाताहरूसम्म पुगेर उनीहरूका समस्या, आवश्यकता र चाहनाहरू सुन्न उम्मेदवार राई केही दिनयता घरदैलोमा सक्रिय छन् ।
घरदैलोमा निस्किएका राईले आज नेपालगन्जको वडा नं. १५ मा पर्ने सुइया पिप्रहवा, वडा नं. २१ मा पर्ने झगरपुर, मोहनपुर, गंगारामपुर्वा तथा डुडुवा गाउँपालिका वडा नं. २ मा पर्ने नयाँ बस्ती, बाबाकुटी, रामनगर पाझा, वडा नं. ३ को उचवामा मतदातासँग साक्षात्कार गरे । त्यस्तै उनले डुडुवाको वडा नं. ४ अम्रहवामा आयोजित कोण सभामा आफ्नो भनाई राखेका थिए ।
उम्मेदवार राईले यो निर्वाचनमा विकासमा पछि परेका ठाउँहरूको स्थानीय समस्या र आवश्यकतालाई बुझ्न महत्वका साथ मतदाताहरूसँग छलफल गरेका छन् । नीतिनियम र कानुनी सुधारमार्फत सम्बोधन गर्न सकिने स्थानीय सवालहरूबारे राईले मतदाताहरूसँग सुझाव लिइरहको उनको प्रचारप्रसार सचिवालयले जनाएको छ ।
डुडुवाका धेरै बस्तीहरूमा नदी कटान र डुबानले निम्त्याएको समस्या गम्भीर छ । सयौं घरपरिवार बाढीले विस्थापित भएर झोरा जंगल क्षेत्रमा अस्थायी बसोबास गरिरहेका छन् । प्रशासनले डुबानबाट जोगाउन झोरा जंगल क्षेत्रमा स्थानान्तरण गरेपछि उनीहरू वर्षौंदेखि त्यहाँ बसिरहेका छन् । तर, नेपाल सरकारले उनीहरूबारे निर्णय नगरिदिँदा त्यस क्षेत्रमा विकासका कामहरू हुन सकेक छैनन् ।
जग्गाको स्वामित्वको टुंगो नलाग्दा डुडुवा क्षेत्रमा सडक, पुलपुलेसा, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा आधारभूत काम गर्न पनि सरकारी अनुमति मिल्दैन । त्यसैले यस क्षेत्रको जनजीवन तुलनात्मकरूपमा विकासको लाभ लिनबाट वञ्चित रहँदै आएको छ । उम्मेदवार राईले त्यहाँका मतदाताहरूका समस्या सम्बोधन र आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । वडा नं ४ मा आयोजित कोणसभामा उम्मेदवार राईले डुडुवा गाउँपालिकाले असहयोग गर्दा त्यस क्षेत्रका सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या अल्झिएको आरोप लगाए ।
उनले निर्वाचनपछि सुकुम्बासी, भूमिहिनहरूको समस्या समाधान हुने आश्वासन दिए । यता नेपालगन्ज १५ सुइया, पिप्रहवाका बासिन्दाले सडक र ढल निकासका लागि योजनाहरू ल्याउन उम्मेदवार राईलाई आग्रह गरेका थिए । घरदैलोका क्रममा उम्मेदवार राईले आफू निर्वाचित भएपछि त्यहाँको विकास निर्माणलाई प्राथमिकता दिने बताए ।