नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार ऋषिराज देवकोटाले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । नेपालगन्जमा शुक्रबार एक कार्यक्रमका बीच उनले प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
पार्टीका केन्द्रिय सहायक महामन्त्री समेत रहेका उम्मेदवार देवकोटाले आफ्नो प्रतिवद्धतामा नेपालगन्ज उपमहानगरपालिकामा प्रस्तावित रिङरोड योजना शिघ्र रुपमा अगाडी बढाउने, धवल सम्शेर राणाको सपनाको रुपमा रहेको नेपालगन्ज-दिल्ली सिधा हवाई उडानको पहल गर्ने, निर्माणाधिन सिक्टा सिचाइँ आयोजना अन्तरगत वितरण नहरहरु गुणस्तरीय र समयमै सम्पन्न गर्न पहल गर्ने, राप्ती नदी किनारका डुडुवा-१ र २ नम्बर वडामा कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्ने, राप्ती नदीबाट नेपालगन्ज शहरका लागि निर्माणाधिन शुद्ध खानेपानी आयोजना छिटो सम्पन्न गराउने उल्लेख गरेका छन् ।
यस्तै सामुदायिक बिद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्ने, खेलकुद पुर्वाधार निर्माण तथा व्यवस्थापन गर्दै खेलाडीहरुको न्युनतम जिविकोपार्जन सुनिश्चित गर्ने, स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने, बढ्दो धर्मान्तरणका विषयमा संविधान र कानूनको कडाईका साथ कार्यान्वयन गर्ने लगायत प्रतिवद्धता गरेका छन् ।
प्रतिबद्धता सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी एवम् पार्टीका महामन्त्री डा. धवलसम्शेर राणाले नेपालगन्ज-दिल्ली सिधा हवाई उडान भएमा पश्चिम नेपालको कायापलट हुने बताए । विगतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच राम्रो सम्बन्ध नहुँदा नेपालगन्ज-दिल्ली सिधा हवाई उडानका अनुमति भारतले दिन नसकेको उनले बताए ।

‘सबै कुरा मिलिसकेको छ, यो काम पाईप लाईनमा छ, दुई देशबीच कुरा मिलेपछि एक दिनमै हुन्छ,’ निर्वतमान संघिय सांसद राणाले भने । किसानका लागि मल उद्योग नेपालमै खोल्नुपर्ने विषयमा आफुले पटक-पटक संसदमा आवाज उठाएपछि जर्मन कम्पनीले उद्योग खोल्ने प्रक्रिया अगाडी बढेको जिकिर गरे ।
विकास निर्माणका कामहरु क्रमिक रुपले हुने बताउँदै महामन्त्री राणाले भने, ‘विगतमा चुनावको मुखमा शिलालेखहरु बने, नेपालगन्जमा आकाशे पुलका जगहरु खनिए, तर ति काम त्यसै रहे, अहिले तमाम बाटो बनेका छन्, विकास कसैले एक्लै गरेर हुदैन, सांसदले सहजीकरण गरिदिने हो, प्रक्रिया अनुसार विकास हुन्छ ।’
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका नेताहरु ओमप्रकाश आजाद लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
