नेपालगन्ज : बाँकेको राजनीतिक तापक्रम फागुन २१ नजिकिँदै जाँदा क्रमशः तात्दै गएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । जसपा बाँके क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा रहेका राई अहिले जनताको घरघरमा पुगेर उनीहरुको दुःख, अभाव र आशा लगायतका कुराहरु सुनिरहेका छन् ।
नेपालगन्जका २१ वडा र डुडुवाका ६ वडा समेटिएको यो निर्वाचन क्षेत्र भूगोल, सामाजिक बनावट र जीवनशैलीका हिसाबले निकै विविध छ । यही विविधताको बीचमा राईले आफ्नो घरदैलो अभियान करिब-करिब पूरा गरिसकेका छन् । तर उनी भन्छन्,‘जनताको घर-आँगनमा पुग्ने काम अझै रोकिएको छैन, रोकिँदैन पनि ।’ डुडुवाको जमिन उर्वर छ । यहाँका अधिकांश नागरिक किसान छन् ।
तर खेतमा पसिनासँगै समस्या पनि छ । राईको टोली जब गाउँ-गाउँ पुग्छ, किसानहरु एउटै गुनासो दोहो¥याउँछन् समयमै मल र बीउविजन नपाउनु । ‘खेती गर्न मल र बीउ चाहियो, तर पाइँदैन । पाइयो भने पनि ढिलो पाइन्छ’ स्थानीय किसानहरुले राईसँग गुनासो सुनाउने गरेका छन् । राईले ती आवाज ध्यानपूर्वक सुन्दै प्रतिवद्धता जनाउँछन् र भन्छन्न्, ‘किसानका समस्यालाई संसदसम्म पु¥याउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’
नेपालगन्ज उपमहानगरपालिका भनिए पनि यहाँका धेरै बस्ती अझै विकट अवस्थामै छन् । सडक, पानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवा पर्याप्त छैनन् । नागरिकहरु गास, बास र कपासकै आधारभूत समस्यासँग जुधिरहेका छन् । राई भन्छन्, ‘शहरभित्रै यति धेरै अभाव देख्दा मन दुख्छ । विकासको नारा केवल कागजमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ ।’
राईले चुनावी अभियानमा पूर्ण समय दिन नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख पदबाट राजिनामा दिए । उनले आफूलाई स्थानीय तहबाट नागरिकका समस्या समाधान नहुने देखेपछि संघीय संसदमा पुग्ने बाटो रोजे । कमरुद्दिन राई मधेशी, आदिवासी जनजाति, थारू, खस, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक समुदायहरूको अधिकारका मुद्दा पनि सशक्त रुपमा उठाउने बताउँछन् ।
उनले भने,‘यी समुदायका हक-अधिकारका विषय अझै पर्याप्त रुपमा सम्बोधन भएका छैनन् । म संसदमा उनीहरूको आवाज बलियो रूपमा उठाउनेछु ।’ उनको अभियानमा जातीय, भाषिक र धार्मिक विविधता बोकेको बाँके–२ लाई समान अवसर र न्याय दिलाउने प्रतिबद्धता झल्किन्छ ।