काठमाडौँ : पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले उक्त नियुक्ति सय प्रतिशत गलत भएको टिप्पणी गरेका हुन्।
उनले आदर्श श्रेष्ठलाई प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि उक्त पद स्वीकार गर्न आग्रह समेत गरेका छन्। 'प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो,' उनले लेखे, 'आदर्श भाइ, प्रधान मन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ।'
पुनले सानो लोभका कारण प्रधानमन्त्रीले कमाएको ऐतिहासिक प्रतिष्ठा धुलोमा नमिलाउन आग्रह गर्दै नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीवादका कारण पुराना दलहरू कमजोर भएको उल्लेख गरेका छन्। यस्तै प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि भविष्यमा समाप्त हुन सक्ने चेतावनी उनले दिएका छन्।
'त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ। यस्तै किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चापलुसीवादले पुराना दलहरू खतम भए। यहि पाराले काम गर्ने हो भने नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन्,' उनले भने। साथै उनले उक्त नियुक्तिबारे आउने सरकारले विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।