नेपालगन्ज : तक्षशिला एकेडेमी, मंगल प्रसाद मावि, होलिल्याण्ड र हिमालयन विद्या निकेतन स्कुलले बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु-१८) छात्र-छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन जित हासिल गरेका छन् ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा तक्षशिलाले नोबेल इङलिस मिडियम स्कुललाई १-० ले पराजित गरेको छ । तक्षशिलाको लागि रिदम रावतले ३६औं मिनेटमा गोल गरे । निर्णायक गोल गर्ने रिदम प्लेयर अफ द म्याच घोषित भए ।
उनलाई नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, नेपालगन्ज न्युरो अस्पतालका फार्मेसी प्रमुख दिपेश विष्टले पुरस्कृत गरे । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा मंगलप्रसादले सडनडेथमा बालविद्या मन्दिर कोहलपुरलाई पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
पेनाल्टी सुटआउटमा ४-४ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा मंगल प्रसादका लागि प्रितिम चन्द, दिलेन्द्र रोकाय, जरक बोहोरा, दिक्षित मल्लले गोल गरे । सडनडेथमा मंगलका लागि रिजन रानाले गोल गरेका थिए । यता बाल बिद्याका लागि पेनाल्टी सुटआउटमा ललित गिरी, सन्तोष नेपाली, हेमन्त राना र पुर्ण बहादुर रानाले गोल गरे । उक्त खेलमा मंगल प्रसादका गोलकिपर रिजन राना कुँवर प्लेयर अफ द म्याच घोषित भए । उनलाई प्रतियोगिताको मेडिकल पार्टनर नेपालगन्ज न्युरो अस्पतालका ल्याब विभाग प्रमुख निरज कुवंरले पुरस्कुत गरे ।
तेस्रो खेलमा होलिल्याण्डले आदर्श मावि नेपालगन्जलाई ४-१ ले पराजित गरेको छ । होलिल्याण्डको लागि अभिशेष थापाले ८ मिनेट , आरुष थापामगरले १८औं मिनेटमा, कप्तान आशिष कुमाईले २८औं मिनेट र डानिल रानामगरले ३३औं मिनेटमा गोल गरे । खेलमा होलिल्याण्डका अभिशेष थापा प्लेयर अफ द म्याच घोषित भए । उनलाई एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना र एन्फा बाँकेको वरिष्ट सदस्य गोविन्द श्रेष्ठले पुरस्कृत गरे ।
चौथो खेलमा हिमालय विद्या निकेतनले सगरमाथा स्कुललाई २-० ले पराजित गरेको छ । हिमालयनको लागि हरिष कुमार बोहोराले १६ औं मिनेटमा र सुदिप विकले इन्जुरी समयमा (५२औं मिनेट) गोल गरे । खेलमा प्लेयर अफ द म्याच सुदिप विक घोषित भए । उनलाई नेपाली सेनाका सेनानी एवम् पुर्व राष्ट्रिय फुटबल खेलाडी दिप श्रेष्ठले पुरस्कृत गरे । प्रतियोगितामा बाँकेको ८ वटा स्थानीय तहको छात्र तर्फ ३७ टिमको सहभागिता रहेको छ ।