नेपालगन्ज : बाँके जिल्ला फुटबल संघले आयाेजना गरेकाे बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र/छात्रा (यु-१८) फुटबल प्रतियाेगितामा पशुपति मावि राँझा, जयबागेश्वरी नेपालगन्ज, कृष्ण मावि काेहलपुर र ज्ञानाेदय मावि खजुरा विजयी भएका छन् ।
पशुपतिले सेन्टथाेमस, जय बागेश्वरीले ड्रिमल्याण्ड स्कुल, कृष्ण माविले नेपालगन्जकाे मनकामना मावि र ज्ञानाेदयले याेगिनी मावि गाैघाटलाई पराजित गरेका हुन् । बिहानकाे पहिलाे खेलमा कृष्ण माविले मनकामनालाई ३-० गाेल अन्तरले पराजित गर्याे । कृष्ण माविका पवल परियारले ९ र ५० मिनेट र जाेकिरण विकले १३ मिनेटमा गाेल गरेका थिए । याे खेलमा कृष्ण माविका पवल परियार प्लेयर अफ द म्याच भए ।
उनलाई बाँके जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्ताेष श्रेष्ठले पुरस्कृत गरे । अर्काे खेलमा ज्ञानाेदयले याेगिनी माविलाई २-० गाेलले पराजित गर्याे । ज्ञानाेदयका निशान विकले दुवै गाेल गरे । उनले १३ र ४० मिनेटमा गाेल गरेका थिए । प्लेयर अफ द म्याच भएका निशानलाई ज्ञानाेदय मावि विद्यालय व्यवस्थापन समितिका सदस्य विजय गुरुङ र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक कमला जाेशीले पुरस्कृत गरे ।
साँझकाे पहिलाे खेलमा पशुपतिले टाइब्रेकरमा सेन्टथाेमसलाई ३-० गाेलले पराजित गर्याे । पशुपतिका इसाक बुढा, हेमन्त बस्नेत र अभिषेक थापाले गाेल गरे । दिपेश सार्कीले गाेल गर्न सकेनन् । सेन्टथाेमसका धनराज विकले मात्र गाेल गर्न सके । राजेन्द्र विक, प्रशान्त क्षेत्री र विक्रम महतले गाेल गर्न सकेनन् ।
याे खेलमा पशुपतिका गाेलकिपर प्लेयर अफ द म्याच भए । उनलाई पत्रकार कुमार श्रेष्ठले पुरस्कृत गरे । अर्काे खेलमा जयबागेश्वरीले ड्रिमल्याण्डलाई १-० गाेलले पराजित गर्याे । २१ मिनेटमा विक्रम चाैधरीले गरेकाे गाेल नै निर्णायक भएकाे थियाे । जयबागेश्वरीका किपर विशेष थारु प्लेयर अफ द म्याच भए । उनलाई अनुसन्धान सहायक चिजमान थारुले पुरस्कृत गरे ।
नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा सञ्चालित प्रतियाेगितामा ३७ वटा विद्यालयले भाग लिएका छन् । प्रतियाेगिताका विजेतालाई ३१ हजार र उपविजेतालाई १६ हजार तथा सर्वाेत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय पुरस्कार राखिएकाे एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाहीले जानकारी दिए ।