नेपालगन्ज : ‘माननीय मिना बोहरा सिद्धिकी टि-१० वडा कप क्रिकेट प्रतियोगिता-२०८३’ को तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा ज्योति स्पोर्ट्स एकेडेमीले आइतबार(भोलि) देखी प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
उक्त प्रतियोगिता सञ्चालन गर्नका लागि आर्थिक वर्ष २०८२/०८३ मा समाजसेवी असफाक अन्सारीको विशेष पहलमा प्रदेश सांसद मिना बोहरा सिद्धिकीले २० लाख रुपैयाँ बजेट विनियोजन गरेकी थिइन् । प्रतियोगिताको तयारीबारे जानकारी दिन शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशकी सांसद सिद्धिकीले महत्वपूर्ण विधा खेलकुद भएकाले क्रिकेटको विकासका लागि आफुले प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइन् । क्रिकेट खेलाडीको मागका आधारमा आफुले प्रदेश सरकारबाट बजेट छुट्याएको उनले प्रष्ट्याईन् । क्रिकेट खेलप्रति वडा वडामा उत्साह देखिएको सांसद सिद्धिकीले बताइन् ।
पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष सिद्धान्तराज शाहीले प्रतियोगिताको लागि ठुलो रकम उपलब्ध गराएकोमा सांसद मिना बोहरा सिद्धिकी र विशेष पहल गर्ने असफाक अन्सारीलाई धन्यवाद दिए । उनका अनुसार टि–१० प्रतियोगितालाई लेदर बलद्धारा नकआउटका आधारमा खेलाइने भएको छ । प्रतियोगिता उद्घाटन र समापन मंगलप्रसाद माध्यामिक बिद्यालयको खेल मैदानमा र बाँकी खेलहरु कोहलपुरस्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा खेलाइने भएको छ ।

प्रतियोगिता उद्घाटन आइतबार बिहान १० बजेतिर हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई नगद ३० हजारभन्दा माथी र उत्कृष्ट ब्याटर र बलरलाई २५/२५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा नेपालगन्जका कुल २३ वटा वडाहरु मध्ये १९ वटाले सहभागिता जनाउने भएका छन् ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य सञ्जु रेग्मी, नेपाल क्रिकेट संघका पुर्व केन्द्रिय उपाध्यक्ष बिनोद मैनाली, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य मेराज हल्वाई, समाजसेवी असफाक अन्सारी लगायतको उपस्थिती रहेको थियो ।