नेपालगन्ज : ‘माननीय मिना बोहरा सिद्धिकी टि–१० वडा कप क्रिकेट प्रतियोगिता–२०८३’ आइतबारबाट सुरु भएको छ । वडा स्तरमा अहिलेसम्म भएका प्रतियोगिता मध्ये सबैभन्दा ठुलो पुरस्कार राशी भएको यो ठुलो प्रतियोगिता हो ।
लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा ज्योति स्पोट्र्स एकेडेमीले सञ्चालन गरेको प्रतियोगिताको स्थानीय मंगलप्रसाद माध्यामिक बिद्यालयको खेल मैदानमा औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद मिना बोहरा सिद्धिकी र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रतियोगिता उद्घाटन शत्रलाई सम्बोधन गर्दै सांसद सिद्धिकीले खेलकुद क्षेत्रलाई सबैले माया गर्नुपर्ने बताइन् । उद्घाटन शत्रमा ओलम्पियन एवम् लुम्बिनी प्रदेशका पुर्वमन्त्री सुरेन्द्र हमाल, पुर्वसांसद मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेपाल क्रिकेट संघका पुर्वकेन्द्रिय उपाध्यक्ष बिनोद मैनाली, क्रिकेट संघका पदाधिकारी, प्रशिक्षक लगायतको पनि उपस्थिती रहेको थियो ।
प्रतियोगिता सञ्चालन गर्नका लागि आर्थिक वर्ष २०८२/०८३ मा समाजसेवी असफाक अन्सारीको विशेष पहलमा प्रदेश सांसद मिना बोहरा सिद्धिकीले २० लाख रुपैयाँ बजेट विनियोजन गरेकी थिइन । टि–१० प्रतियोगितालाई लेदर बलद्धारा नकआउटका आधारमा खेलाइएको छ । प्रतियोगिता उद्घाटन र समापन मंगलप्रसाद माध्यामिक बिद्यालयको खेल मैदानमा र बाँकी खेलहरु कोहलपुरस्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा खेलाइने भएको छ ।
प्रतियोगिताका विजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई नगद ३० हजारभन्दा माथी र उत्कृष्ट ब्याटर र बलरलाई २५र२५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा नेपालगन्जका कुल २३ वटा वडाहरु मध्ये १९ वटाले सहभागिता जनाएका छन् ।