नेपालगन्ज : नेपालगन्जमा राष्ट्रिय स्तरको ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज–२०२६’ हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज–१ को वडा कार्यालयको सहयोग तथा बाँके जिल्ला साइक्लिङ संघ र नेपालगन्ज साइक्लिङ क्लबको सहकार्यमा नेपालगन्ज बाइसाईकलले यही असार ६ गते राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो ।
नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गरेर नेपालगन्ज बाइसाईकल प्रा.लि.का निर्देशक गगन थापाले यसबारे जानकारी गराएका हुन् । नेपालगन्जमा निर्माण भएको नेपालको सबैभन्दा ठुलो पम्प ट्रयाकमा आयोजना हुन लागेको यस प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट राष्ट्रिय तथा उदयीमान खेलाडीहरुको उल्लेखनीय सहभागिता रहने आयोजकको अपेक्षा छ ।
प्रतियोगिता खेलाडीको उमेर समुह अनुसार विभिन्न ६ वटा विधामा खेलाइने भएको छ । जसमा इलिट महिला/पुरुष, मास्टर समुह पुरुष, जुनियर ए र बी, तथा किड्स समुह विभाजित गरिएको छ । प्रतियोगिताले नेपालमा पम्प ट्रयाक खेलको विकास र विस्तार, नयाँ प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
पत्रकार सम्मेलनमा नेपालगन्ज–१ का वडाअध्यक्ष प्रमोद रिजालले पम्प ट्रयाक निर्माण स्थलमा आवश्यक संरचना निर्माणमा सहयोग गरेको बताए । ‘खेलाडी पनि स्थानीय स्तरमा उत्पादन गर्नुपर्छ, नेपालगन्जमा साईकल चलाउनेको संख्या ठुलो छ, त्यसैले हामीले निःशुल्क रुपमा प्रशिक्षण दिने योजना बनाएका छौं,’ उनले भने ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रत्नबहादुर खत्रीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।