नेपालगन्ज : प्रथम मेयर कप महिला तथा पुरुष ५ एस हक्की प्रतियोगिता–२०८३ आजदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रम पूर्वखेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् पूर्वअन्तर्राष्ट्रिय भलिबल रेफ्री अजितकुमार शर्मा रहेका थिए । प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ । खेलहरू लिग कम नक–आउट प्रणालीमा सञ्चालन भइरहेको छ ।
बिहीबार सम्पन्न खेलहरूको नतिजाअनुसार महिलातर्फ पहिलो खेलमा त्रिभुवन चोक क्लबले बाबु गाउँ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हात पार्यो । दोस्रो खेलमा बाँके गाउँ क्लबले महेन्द्र पार्क क्लबलाई १–० गोल अन्तरले हराउँदै ३ अंक बटुल्न सफल भयो । पुरुषतर्फ पहिलो खेलमा बाँके गाउँ क्लब र महेन्द्र पार्क क्लबबीच १–१ गोलको बराबरी भएपछि दुवै टोलीले १र१ अंक बाँडे । दोस्रो खेलमा बाबु गाउँ क्लबले त्रिभुवन चोक क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गर्यो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी शर्माले हक्की खेलको विकास र विस्तारका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदले अनुशासन, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने भएकाले युवापुस्तालाई खेलतर्फ आकर्षित गर्न आवश्यक रहेको धारणा राखे। उनले पूर्व खेलाडी समाज बाँकेले विभिन्न खेलकुद गतिविधि सञ्चालन गरी खेल क्षेत्रको विकासमा र्पुयाएको योगदानको प्रशंसा समेत गरे ।
समाजका सभापति श्रेष्ठले बाँके जिल्लामा हक्की खेलको पुनर्जागरण र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद मार्फत युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने तथा खेल संस्कृतिको विकास गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने नेपालगन्ज उपमहानगरपालिका, सहभागी टोली, खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गरेका थिए ।