नेपालगन्ज : ‘माननीय मिना बोहरा सिद्धिकी टि–१० वडा कप क्रिकेट प्रतियोगिता–२०८३’ को उपाधी नेपालगन्ज–१२ नम्बर वडाले हात पारेको छ । नेपालगन्जको मंगलप्रसाद माध्यामिक बिद्यालयको खेल मैदानमा आइतबार भएको फाइनलमा नेपालगन्ज–२३ नम्बर वडालाई हराउँदै उक्त वडाले उपाधी हात पारेको हो ।
उपाधी जितेसँगै नेपालगन्ज–१२ नम्बर वडाले नगद ३ लाख, ट्रफी र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेत बनेको नेपालगन्ज–२३ नम्बर वडाले नगद २ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताका विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशकी सांसद मिना सिद्धिकी, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेस बाँकेका सचिव शुधान्सु कोइराला, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष मेराज अन्सारी लगायतले हस्तान्तरण गरे ।
प्रतियोगितामा नेपालगन्ज–१२ नम्बर वडाका टिम क्याप्टेन गौतम कनोजिया प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले नगद ३० हजार प्राप्त गरे । यस्तै नेपालगन्ज–११ नम्बर वडाका सलाउद्धिन खान बेष्ट ब्याटर घोषित भई नगद २५ हजार प्राप्त गरे । यसैगरी नेपालगन्ज–२३ नम्बर वडाका टिम क्याप्टेन हसिब अन्सारी बेष्ट बलर घोषित भए ।
उनले नगद २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको फाइनल खेलमा नेपालगन्ज–१२ नम्बर वडाका श्याम आर्य प्लेयर अफ द म्याच घोषित भई नगद २ हजार ५ सय र सोही वडाका राम आर्य टर्निङ प्वाइन्ट अफ द म्याच घोषित भई नगद १ हजार प्राप्त गरे । वडा स्तरमा अहिलेसम्म भएका प्रतियोगिता मध्ये यो सबैभन्दा ठुलो पुरस्कार राशी भएको प्रतियोगिता हो ।
लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा ज्योति स्पोट्र्स एकेडेमीले प्रतियोगिता सञ्चालन गरेको थियो । समाजसेवी असफाक अन्सारीको विशेष पहलमा लुम्बिनी प्रदेश सांसद मिना बोहरा सिद्धिकीले २० लाख रुपैयाँ बजेट विनियोजन गरेकी थिइन ।
टि–१० प्रतियोगितालाई लेदर बलद्धारा नकआउटका आधारमा खेलाइएको छ । प्रतियोगितामा नेपालगन्जका कुल २३ वटा वडाहरु मध्ये १९ वटाले सहभागिता जनाएका थिए ।