नेपालगन्ज : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक, अधिकारका पक्षमा आफुहरुले बोल्ने सम्बद्ध सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले पश्चिम तारा नेपाल सँगको समन्वयमा सरोकारवालासँग बुधबार नेपालगन्जमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सम्वद्ध सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । सम्बद्धहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान स्थापित भएपछि मात्र अरु अधिकार पाउने बताए ।
एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक एवम् अधिवक्ता बसन्त गौतमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि सबैभन्दा पहिलो कुरा पहिचान भएको बताए । ‘अहिले पनि पहिचानको समस्या छ, आफ्नो पहिचान अनुसार नागरिकता पाउन सक्नु भएको छैन, कानूनी र राजनीति अधिकार प्राप्त गर्न सक्नु भएको छैन,’ उनले भने ।
सहयात्री नेपाल नेपालगन्जकी सचिव अञ्जना चर्तुबेदीले सबै जात, धर्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरु रहेको बताईन् । तर, कतिपय समुदायभित्र आफ्नो कुरा बताउन समस्या हुने गरेको उनको भनाई छ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष गोविन्द रेग्मी, अधिकारकर्मी रबिन्द्र कर्ण लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
सो क्रममा प्रोजेक्ट अफिसर मनिला न्यौपानेले ‘डिसिए प्राईड’ परियोजनाबारे प्रस्तुतीकरण गरेकी थिइन् । उनका अनुसार तीन वर्षसम्म लुम्बिनी सहित ४ वटा प्रदेशमा उक्त परियोजना सञ्चालन हुनेछ । त्यस क्रममा उनले आफ्नो भोगाई र अनुभव समेत सुनाएकी थिइन् ।
पश्चिम तारा नेपाल नेपालगन्जकी प्रमुख परिना चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई कानूनी र राजनीति अधिकार आवश्यक रहेको बताइन् । अझैपनि परिवार र समाजको बन्देजका कारण कतिपय ब्यक्तिहरु खुल्न डराईरहेको उनको भनाई छ । कार्यक्रममा सिमरन शेरचनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा नेपालगन्ज क्षेत्रका अधिकारकर्मी, नागरिक अगुवा, कानुन ब्यवसायी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।