नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित चेतनानगर टोलमा बिद्युतको ‘लो भोल्टेज’ समस्या समाधान भएको छ । प्राधिकरणले दुई महिनादेखी थालेको प्रयासले बिहीबार अन्ततः सार्थकता पाएको हो । नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले नेपालगन्ज औद्योगिक क्षेत्रको दक्षिण–पश्चिममा रहेको खाली ट्रान्सर्फमर मार्फत लाईन जोडेर उक्त टोलको बिद्युत भोल्टेजमा सुधार ल्याएको हो ।
टोलमा ‘लो भोल्टेज’ को समस्या समाधान गर्न प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सुरुमा उत्तर–दक्षिण सडक छेउमा पोल गाड्न खोज्दा केही स्थानीयले अबरोध गरेका थिए । त्यसपछि स्थानीय बासिन्दाहरु वितरण केन्द्रमा डेलिगेशन पुगेर दवाव सिर्जना गरेका थिए । बिद्युत प्राधिकरणले दुबै पक्षलाई सहमतीमा ल्याएर काम अगाडी बढाउन खोजेपनि अवरोध गर्ने पक्षहरु सहमत हुन सकेनन् ।
स्थानीय बासिन्दाको निरन्तर दवाव पश्चात प्राधिकरणले वैकल्पिक रुपमा पुर्व–पश्चिममा रहेको सडक छेउमा पोल गाडेर लाईन तान्ने पुनः प्रयास गर्यो । प्राधिकरणले बुधबार पोल गोड्न खोज्दा पुनः केही स्थानीयले काममा अबरोध पुर्याउन खोजेका थिए । त्यसक्रममा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरी, नगर प्रहरी र आमस्थानीय बासिन्दाको सहयोगमा प्राधिकरणका ठेकेदारले पोल र तार विस्तारको काम सम्पन्न गरेका थिए । त्यसपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका स्थानीय शाह सहितको उपस्थितीमा बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको कार्यालयमा सहमती भएसँगै बिहीबार बिहानदेखी चेतनानगर टोलमा नयाँ ट्रान्सफर्मरमार्फत लाईन सञ्चालनमा आएको छ ।
लामो समयदेखी लो भोल्टेज समस्याबाट आक्रान्त बनेका चेतनानगरका स्थानीय बासिन्दा अहिले खुसी भएका छन् । चेतनानगर टोल विकास समितिका अध्यक्ष रमेशकुमार अधिकारीले बिद्युत प्राधिकरणले यहाँका आमस्थानीय बासिन्दाको माग अनुसार ‘लो भोल्टेज’ समस्यालाई गम्भिरता पूर्वक लिएर समाधान गरिदिएकोमा धन्यवाद दिएका छन् ।
प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रको अग्रसरतामा यो सबै काम सफल भएको भन्दै उनले खुलेरै प्रशंसा पनि गरे । ‘टोल नजिकै खाली अवस्थामा ट्रान्सफर्मर भएपनि हामी लो भोल्टेजको अत्यधिक मारमा थियौं, बिद्युतले लाईन तान्ने प्रयास गर्दा केही विकास बिरोधीले अवरोध गर्न खोजे, तर राज्यको कानुनका अगाडी उनीहरुको केही सिप चलने, बिद्युत हाकिम साबको अग्रसरतामा आज यो सबै काम सफल भयो,’ अध्यक्ष अधिकारीले भने ।
प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख मिश्रले चेतनानगर टोलको समस्याबारे आफु गम्भिर भएर काम अगाडी बढाएको बताए । ‘त्यो टोलमा भोल्टेज नभएर अत्यन्तै विजोग अवस्था थियो, म आफै फिल्डमा पुगेर पनि हेरेर आएको हुँ र नजिकै रहेको ट्रान्सफर्मरसँग कनेक्सन गर्न पोल गाड्नुपर्ने अवस्था थियो, पोल गाड्न खोज्दा केही स्थानीयको अटेरीले गर्दा प्रयास गर्दा गर्दै पनि भोल्टेज सुधार गर्न समय लाग्यो, अहिले सहमती भएसँगै लाईन चलेको छ, हामी पनि खुसी भएका छौं,’ मिश्रले भने ।
सम्बन्धित समाचार पढ्नुस् :
विद्युत लाईन बिस्तारमा अवरोध पुर्याउने नियन्त्रणमा