काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानाकर्षण गरेको छ । बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले तत्काल गर्नुपर्ने ९ कामको सूची नै बनाएर सरकारलाई बुझाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न आङदेम्बे शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेका थिए । प्रधानमन्त्री शाहलाई भेटेर उनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्थलगत रूपमा देखिएका समस्या समाधानका लागि सरकारले तत्काल गर्नुपर्ने कामहरूबारे जानकारी गराएका हुन् । कांग्रेसको नजरमा भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे तत्काल गर्नुपर्ने ९ काम निम्नानुसार रहेका छन् ।
१. हवाई उद्धारलाई थप प्रभावकारी बनाइयोस्। नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ। तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस्।
२. सडक र पुल तत्काल सञ्चालनमा ल्याइयोस्। रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गरियोस्। क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गरियोस्।
३. विद्युत् र सञ्चार सेवा तत्काल सुचारु गरियोस्। अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाइयोस्।
४. बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पारियोस्। बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरियोस्।
५. उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गरियोस्। सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउने यातायातको व्यवस्था गरियोस्।
६. घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिइयोस्। नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्। ज्येष्ठ नागरिकका लागि समेत पर्याप्त शय्या उपलब्ध गराइयोस्।
७. स्थानीय तहसँग प्रभावकारी समन्वय गरियोस्। उद्धार तथा राहतमा स्थानीय सरकारसँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाओस्। राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गरियोस्।
८. अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्। सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस्।
९. त्रिशूलीलगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गरियोस्।
विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुन:स्थापनाका कार्यलाई तीव्र बनाउन सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।