काठमाडौं : नेपाली राजनितिमा संघर्षले खारिएका नेता हुन अमरसिंह पुन । उनी नविन सोच र संकल्प सहित अगाडी बढिरहेको नेपाली कांग्रेसको बिचारलाई आम जनतामाझ स्थापित गराउने जुझारु नेताका रुपमा आमकार्यकर्ता र जनताबीच अत्यन्तै परिचित ब्यक्तित्व हुन् ।
नेपाली राजनीतिमा गर्विलो इतिहास बनाएका नेता अमरसिंह अहिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रिय महामन्त्री पदका उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति हुदै पार्टीको केन्द्रिय राजनीतिमा समेत प्रभावकारी एवम् नेतृत्वदायी भूमिका निभाएका उनी सबैसँग मिल्ने, सरल स्वभावका नेताका रुपमा चिनिन्छन् ।
कांग्रेसको १५ औं महाधिवेशनमा यसपटक महामन्त्रीको जिम्मेवारी पाएर पार्टीलाई चलायमान र कार्यकर्ताको सुख, दुःखमा खटिने उनको योजना छ । ‘पार्टीलाई बलियो बनाउनका लागि काम गर्ने संकल्प सहित म महामन्त्री पदको उम्मेदवार बन्दैछु, नेपाली कांग्रेस अहिले जेनजी युवासहित अनुभवी नेता कार्यकर्ताको भावनालाई बोकेर हिडिरहेको पार्टी हो, युवादेखी पाका पुस्ताको भावनालाई समेटेर पार्टीलाई चलायमान गराउने संकल्पसहित मेरो उम्मेदवारी हुनेछ,’ उनी भन्छन् ।

अमरसिंह पुनको आरोह-अवरोह
२०२७ साल अषाढ ३ गते रोल्पाको साविक राँक गाविस वडा नम्बर ८ हालको गंगादेव गाउँपालिका वडा नम्बर ७ मा पिता बीरबहादुर पुन र माता नन्दु पुनको कोखबाट अमरसिंह पुनको जन्म भएको थियो । पुनको बाल्यकाल गाउँमै बितेको थियो । उनी मध्यम परिवारको सदस्य थिए । प्राथमिक तहको शिक्षा उनले गाउँकै बिद्यालयबाट पुरा गरेका थिए ।
काम विशेषले करिव १८ वर्षको उमेरमा उनी भारत प्रस्थान गरेका थिए । भारतमै उनले हाई स्कुल तहको अध्ययन हासिल गरेका थिए । विभिन्न उत्तार-चढावका साथ उनको बाल्यकाल बित्यो । सानै उमेरदेखि अमरसिंह चलाख, निडर र सामाजिक काममा नेतृत्व गर्ने दख्खल राख्थ्ये । राजनीतिक चेत भएको परिवारमा जन्मेकाले उनले सानै उमेरदेखि समाजमा हुने विभिन्न गतिविधीमा सहभागी हुने अवसर प्राप्त गरे ।
भारतबाट २०५० सालमा नेपाल फर्केपछि उनी गाउँघरमा हुने सामाजिक कार्यहरुमा अग्रसर भए । पञ्चयात कालमा बहुदलिय व्यवस्था ल्याउनका लागि विभिन्न राजनीतिक अभियानमा सक्रिय भएका अमरसिंह नेपालमा बहुदलको स्थापनापछि औपचारिक रूपमा राजनीतिमा होमिएका हुन् ।
तत्कालिन समयमा रोल्पाको पश्चिम भागमा नेपाली कांग्रेसको संगठन निर्माण गर्न पुनले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी गराउन वि.सं. २०४८, २०४९, २०५१ र २०५४ को निर्वाचनमा महत्तपूर्ण भूमिका निर्वाह गरेका थिए । २०५२ सालबाट सुरु भएको माओवादी सशस्त्र बिद्रोहको मुख्य निशानामा परेका पुन जिल्लामा बस्ने वातावरण नभएपछि २०५६ सालदेखि नेपालगन्जमा बस्न थाले ।
२०५८ देखी २०५९ सम्म नेपालगन्जमा बस्दा त्यहाँ पनि सशस्त्र द्धन्द्धको प्रभाव बढ्दै गयो र उनीमाथी हुन सक्ने सुरक्षा खतराको जोखिम रोक्न स्थानीय प्रसाशनकै सल्लाहमा काठमाडौं स्थान्तरण भए । माओवादीले उनीमाथी पटक पटक आक्रमण गर्ने प्रयास गरेको थियो । २०६२-२०६३ को दोस्रो जनआन्दोनमा महत्वपूर्ण सहभागिता जनाएका अमरसिंह प्रहरीको दमनबाट घाईते हुनुका साथै केही समय पक्राउ पनि परेका थिए ।
अमरसिंह नेपाली कांग्रेसको ११औँ महाधिवेशनदेखी निरन्तर रुपले महासमिति सदस्य पदमा निर्वाचित हुदै आएका नेता हुन् । २०६२ सालमा भएको कांग्रेसको ११औं अधिवेशनबाट रोल्पा जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका उनी २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापति पदमा निर्वाचित भएका थिए ।
उनकै नेतृत्वमा रोल्पामा नेपाली कांग्रेस रोल्पाको सुविधासम्पन्न कार्यालय भवन तथा स्वर्गिय सुशिल कोइरालाको शालिक निर्माण गरियो । २०७० को दोस्रो संविधान सभा निर्वाचनबाट संविधान सभा सदस्य (सभासद) मा निर्वाचित भए ।
कोईराला परिवारसँग निकट मानिने अमरसिंह तत्कालिन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाको विशेष योजनाकार मध्येका एक थिए । उनले कोइरालाको दैनिकी कार्य सञ्चलानको लागि निकट रहेर सहयोग गरेका थिए । त्यतिबेला संसदको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्य भएर पनि काम गरेका थिए । तत्कालिन समयमा नेपाल सरकारको सिंचाई राज्यमन्त्री पनि भए ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उनी अत्यधिक मतका साथ लुम्बिनी प्रदेशको सभापति पदमा निर्वाचित भएका थिए । सधै नेतत्वको प्रतिपक्ष भूमिकामा रहने अमरसिंह नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । आवश्यकता र उपयुक्तताको आधारमा पार्टीमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता राख्ने अमरसिंह पार्टीका सालिन र सरल नेताको परिचय बनाएका छन् ।
अमरसिंह कांग्रेसको १५औं महाधिवेशनमा देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिको विश्वास जित्दै अहिले पार्टीको महामन्त्री बन्ने दौडमा रहेका छन् । यस दौडमा पार्टी केन्द्रिय नेतृत्वसहित सबै तहका नेता तथा कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुले पूर्ण रुपले साथ र सहयोग गर्नेमाा उनी विश्वस्त रहेका छन् ।