काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवम् लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनमा खुल्ला महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी छन् ।
उनी हालसम्म पार्टीको लुम्बिनी प्रदेश सह-महामन्त्री एवम् प्रदेश सभा सदस्य छिन् । पार्टीको १५ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिदै गरेकी निमाको समुहबाट ९ जना महिला निर्वाचित हुनेछन् । महाधिवेशनमा आएका महाधिवेशन प्रतिनिधिलाई आफनो योगदानको मुल्यांकन गर्दै निर्वाचित गराउने विश्वास व्यक्त गरेकी छन् ।
‘म आम प्रतिनिधिज्यूहरुसँग भेटने प्रयास गरेको छु, १५औं महाविधेशनमा आउनु सम्पुर्णलाई भेटने प्रयास गरेको छु, तर सबैसँग भेटेर मत माग्ने समय अभाव हुन सक्छ, पार्टीलाई नयाँ ढंगले अगाडी बढाउन मैले गरेको योगदानको मुल्याकंन गर्दै आमकर्ताले मलाई निर्वाचित गराउनु हुनेछ भन्ने विश्वास लिएको छु,’ नेतृ निमा भन्छिन्, ‘करिब ७ हजार ८ सय प्रतिनिधि काठमाडौं आउनु भएको छ, यो महाकुम्भमा सबैसँग मेरो भौतिक चिनजान नहुन सक्छ, तर तपाईले आफ्नो साथी, बैनी, छोरी, दिदी र अनवरत मैदानमा लडिरहेको एक महिला योद्धाको रुपमा सधै साथ र सहयोग गर्नु भएको छ, म तपाईहरु माझ पुग्न सकौला-नसकौला, मेरो उम्मेदवारी तपाईको आफनै उम्मेदवारी मानेर सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
को हुन् निमा गिरी ?
अधिवक्ता समेत रहेकी निमाले व्यवस्थापन र राजनीतिशास्त्र र कानुनमा स्नातकोत्तर तहको अध्ययन गरेकी छन् । उनी स्पष्ट बक्ता पनि हुन् । प्युठान झिमरुक गाउँपालिका–७ मच्छी निवासी गिरीले नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिक यात्रा सुरु गरेकी थिइन् । बिद्यार्थी राजनीति हुँदैं पार्टीमा सक्रिय भएकी गिरी पार्टीको महाधिवेशन प्रतिनिधि, प्रदेशसभा सदस्य, लुम्बिनी प्रदेश कांग्रेसको उच्च तहमा पुगेकी छन् ।
२०६७ सालमा भएको नेपाली कांग्रेसको १२औं महाधिवेशनमा गिरी देभरकै कान्छी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनेकी थिइन् । लुम्बिनी प्रदेश सरकारमा गिरी चर्चित सांसदको रुपमा परिचित छिन् । गिरीले प्रदेश मामिला तथा कानून समिति सदस्य र विशेषाधिकार समिति सदस्यको रुपमा जिम्मेवारी निर्वाह गरेकी छन् । उनले प्रदेश सभामा कानुन निर्माण, निजामति सेवा, सार्वजनिक नीति तथा प्रदेशका विकास सम्बन्धी विषयहरुमा आवाज उठाउँदैं आएकी छन् ।
लुम्बिनी प्रदेश सभामा गिरीले आफ्नो वार्षिक ‘रिर्पोट कार्ड’ सार्वजनिक समेत गरिसकेकी छन् । प्रदेश सभामा नयाँ अभ्यासको रुपमा लिइएको यस कार्यले सार्वजनिक पदमा बसेका व्यक्तिको काम प्रति जिम्मेवारी निर्वाह र जवाफदेहितालाई मुल्यांकन गर्ने कांग्रेसका नेता तथा कार्यकर्ताले बताएका छन् । रिपोर्ट कार्डमा उनले गरेका कामलाई समेटिएको छ ।