काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पालिका चुनावका लागि ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ सार्वजनिक गरेको छ । उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित पार्टीले नयाँ रूपरेखा ल्याएको हो । रूपरेखाअनुसार उम्मेदवार छनोटका लागि चारवटा आधार तय गरिएका छन् ।
जसमा पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक मतदानलाई सबैभन्दा बढी ४० प्रतिशत भार दिइएको छ । त्यस्तै, लिडरसिप एकेडेमीको प्रशिक्षण र राजनीतिक निकटता तथा पृष्ठभूमिलाई समान २५–२५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भाराङ्क निर्धारण गरिएको छ । पार्टीले उम्मेदवार छनोटमा विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।
सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षका साथै महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार छनोटमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ ।
निर्धारित विधिबाहिर गएर उम्मेदवार छनोट गर्नुपर्ने असाधारण परिस्थिति उत्पन्न भएमा भने पार्टी केन्द्रीय समितिमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट त्यसलाई अनुमोदन गराउनुपर्ने व्यवस्था गरिएको छ । रूपरेखाअनुसार उम्मेदवार छनोट प्रक्रियामा ‘क्यान्डिडेट क्लब’, लिडरसिप एकेडेमी र प्रारम्भिक चुनावको अर्को प्रारूपसमेत अनिवार्य रहनेछ ।