नेपालगन्ज : पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि बिहीबार(आज) देखि कोरोना भाइरस विरुद्ध ‘फाइजर बायोएनटेक’ खोप लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिद्यालयमै पुगेर बालबालिकालाई खोप दिन लागिएको हो ।
कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले बाँकेका ७६ हजार २ सय ३९ जना बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको जानकारी दिए । उनका अनुसार जिल्लाका ५ सय ८ स्थानमा खोप केन्द्र राखिएको छ । ‘दुई सयभन्दा बढी बालबालिका भएको बिद्यालयमै पुगेर खोप लगाउने कार्यक्रम छ, त्यो भन्दा कम संख्या भएका बिद्यालयको हकमा अन्य बिद्यालयमा गाभेर लगाइनेछ,’ उनले भने ।
बिद्यालयका साथै इट्टा भट्टा लगायत स्थानमा रहने बालबालिकालाई पनि सम्बन्धित ठाउँमा पुगेर खोप लगाइने श्रेष्ठले बताए । खोप कार्यक्रम असार १५ गतेसम्म चल्नेछ । बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिनेछ ।
खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।
यस्तै दोस्रो चरण ५० जिल्लामा भदौं ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ । पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइनेछ ।
यसैगरी विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।