यही मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवारहरु अन्तिम कसरतमा जुटेका छन् । नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवारहरु पनि निर्वाचन परिणाम ल्याउने कसरतमा देखिन्छन् । निर्वाचनका सन्दर्भमा बाँके प्रदेश सभा-२ (१) का उम्मेदवार राजकुमार बर्मासँग गरिएको संवाद :-
तपाई थुप्रै ठाउँमा पुगेर मतदातालाई भेट्नु भयो, कस्तो प्रतिक्रिया पाउनु भयो ?
मतदाताहरुको बीचमा जादाँखेरी मतदाताहरुले मेरो मुल्यांकन गरिरहनु भएको छ अरु उम्मेदवारहरुको तुलनामा । किनभने अहिलेसम्म मैले समाजमा बिभिन्न संघ, संस्थामा शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा काम गरेको छु । त्यसैले मतदाताले मलाई नै मतदान गरेर निर्वाचनमा अगाडी पठाउँछौं भनेका छन् ।
मतदाताको सुझाव र प्रतिक्रियाले तपाईलाई कस्तो अनुभुती भइरहेको छ ?
उहाँहरुको प्रतिक्रियाले मलाई राम्रो अनुभुती भइरहेको छ । म खुशी छु र उत्साहित पनि छु । र मलाई विश्वास छ, मतदाता सबैले मलाई जिताउनु हुनेछ र उहाँहरुका सल्लाह सुझाव अनुसार काम गर्नेछु ।
तपाई के एजेण्डा बोकेर जनताका बीचमा जानु भएको छ ?
म जनताको बीचमा जुन ठाउँमा जे कुराको आवश्यकता छ, तिनै एजेण्डा लिएर गएको छु । कुनै ठाउँमा राम्रो बाटो छैन भने मुख्य गरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै समस्या देखिएको छ र म त्यही एजेण्डा लिएर गएको छु । र सबैभन्दा ठूलो समस्या सुत्केरी सेवाको लागि पनि नेपाली कांग्रेसले पाँच हजार खर्च दिने कार्यक्रम छ, भने अन्य कार्यक्रमहरु हाम्रो घोषणा पत्रमा छ, त्यो घोषणा पत्र लिएर म जनताको बीचमा गएको छु ।
तपाई यसअघि संबिधान सभा निर्वाचनमा पनि उम्मेदवार बन्नु भएको थियो । तर, परिणाम आएन । अहिले प्रदेश सभाका लागि उम्मेदवार भईरहँदा चुनाव जित्न कत्तिको सहज देख्नु हुन्छ ?
अब सहज त जनताहरुले चाहिरहेका छन्, त्यसकारणले सहज भएको छ । जनताले म प्रति विश्वास लिएका छन । र मलाई जनताले चुनाव जिताउँछन्, भन्नेमा म विश्वस्त छु ।
तपाईले चुनाव जित्ने आधार के हो ?
मेरो चुनाव जित्ने आधार मैले ४५ वर्षसम्म सेवा गर्दै आएको छु । यही क्षेत्रमा र यो अवधिभर मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन । मैले कोही जनताको एक रुपैयाँ पनि खाएको छैन । यदी खाएको छु भने मलाई भोट नदिन्स् । त्यसैले जनताले मलाई विश्वास गरेका छन् र भोट दिने छन् ।
अन्त्यमा, तपाईले आफ्नो क्षेत्रका आम मतदातालाई के भन्न चाहनु हुन्छ ?
म आम मतदातालाई के भन्न चाहान्छु भने, तपाइँहरुले अहिलेसम्म जुन सरसल्लाह र सुझाव दिनु भएको छ, त्यो अनुसार म हिड्नेछु । विकास निर्माणको कुरा र मुख्य गरि किसानका समस्या जुन कुरा उठेका छन्, त्यो म सम्बन्धित ठाउँसम्म पुर्याउन आवाज उठाउनेछु र यहाँको समग्र समस्याको लागि काम गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।