बाँके (नरैनापुर) : बाँकेको राप्तीपारी नरैनापुरमा एक दिने योग शिविर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ । स्वास्थ्य सम्बन्धी जानकारी दिने उदेश्यले नरैनापुर गाँउपालिकाको आयोजनामा भएको शिविरमा सहभागीलाई योग गुरु गिरिराज शर्मा भट्टराईले प्रशिक्षिण दिएका थिए ।
शिविरको समापन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालमा दिनानुदिन रोगीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा योगका माध्यम बाट रोग नियन्त्रण गर्न सहयोग मिल्ने बताए । उनले मानसिक तनाव कम गर्न योग सबैले गर्नु आवश्यक रहेको बताउँदै योग गर्न गाउँपालिकाले योग समिति संग सहकार्य गरी अगाडि बढ्ने बताए ।
उक्त कार्यक्रममा नरैनापुरका स्वास्थ्य संयोजक नागेन्द्र कुमार शाह, योग प्रशिक्षकहरु सुमित्रा सुवेदी, संगिता शर्मा, निर्मला शाह लगायतले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न योग समितिले काम गर्ने विश्वास व्यक्त गरे ।
शिविरमा वडा नम्बर १ का वडाअध्यक्ष इसाक जोलाह, वडा नम्बर ३ का वडाअध्यक्ष अजय मिश्रा, योग समिति नेपालका पदाधिकारी, गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको थियो । योग शिविरमा सहभागी भएका ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक शाहले जानकारी दिए ।
यसैबीच शिविरका क्रममा भरत महत्तोको संयोजकत्वमा ७ सदस्यीय योग समिति नरैनापुर शाखाको गठन गरिएको छ । समितिमा डा. सूर्य प्रकाश शाह, डा. गोपाल तिवारी, नागेन्द्र शाह, नबिन बुढा, रुपवरन यादव र माधव अधिकारी रहेका छन् । योग शिविरमा सहभागी हुन नरैनापुर पुगेका योग समितिका पदाधिकारीलाई गाउँपालिका अध्यक्ष शाहले खादा लगाएर स्वागत गरेका थिए ।