नेपालगन्ज : नेपालगन्जस्थित एचसीआरसी हस्पिटलमा घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण चौथो पटक पनि सफल भएको छ । उक्त हस्पिटलमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा रहेको चिकित्सक टोलीले यस वर्षको चौथो घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण हालै सफलता पूर्वक सम्पन्न गरेको हो ।
यो पश्चिम नेपालमै एक मात्र एचसीआरसी हस्पिटलमा भएको अस्पताल प्रशासनले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित चार बाहिनी रोडमा उक्त अस्पताल अवस्थित छ । आधुनिक सुविधा सम्पन्न भवन, अत्याधुनिक उपकरण सहित दक्ष र अनुभवी चिकित्सक समुहबाट गुणस्तरीय र विशिष्टकृत स्वास्थ्य सेवा प्रवाह गरिरहेको हस्पिटलले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी ६५ वर्षीया धनसरी रानाको घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक गरिएको अस्पतालका रमेश सिटौलाले जानकारी दिए । बिरामीलाई बुधबार शल्यक्रियाको पाँचौं दिनपछि स्वास्थ्य लाभको कामनासहित डिस्चार्ज गरिएको छ । हाल सम्म अस्पतालमा भएका प्रत्यारोपणहरु पूर्णरुपमा सफल भई बिरामीहरुले राम्रोसँग दुःखाई रहित खुसी साथ हिडडुल, उठ्बस गरिरहेको सिटौलाले बताए ।
‘इन्फेक्सन कन्ट्रोल मापदण्ड अनुसार एचसीआरसीमा मोडुलर अप्रेशन थियटर रहेकोले सबै किसिमको जोर्नी सम्बन्धी शल्यक्रियाको लागि पश्चिम नेपालमै एचसीआरसी हस्पिटल रहेको छ,’ उनले भने । ‘घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण भनेको समस्या आएको घुँडाको पूर्ण जोर्नीलाई अप्रेशनको माध्यममार्फत निकालेर घुँडामा कृत्रिम धातुको जोर्नी राख्नु हो,’ चिकित्सक भन्छन् ‘घुँडाको जोर्नीको समस्याले हिडडुल गर्न, उठ्न, बस्न नै नसकिने समस्या तथा जोर्नीको कार्टिलेज पूर्णरूपमा खिएर जान्छ, तब यी सबै उपायहरू निरर्थक हुन्छन्, यस्तो अवस्थामा पूर्ण जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ, यसलाई नै समाधानका लागि महत्वपूर्ण माध्यम मानिन्छ ।’
घुँडाको जोर्नीमा समस्या आए चलाउन नसकिने अवस्था आएमा कृतिम रुपमा निर्मित धातुको जोर्नी राखिन्छ । जुन स्टिल, कोबाल, क्रोमियम, मोलिबेलमको समिश्रणबाट निर्माण गरिएको हुन्छ । सेरामिक धातुबाट बनेको जोर्नी पनि प्रत्यारोपणमा राख्ने गरिन्छ । जुन अन्यको तुलनामा महँगो पर्छ । धातुबाट बनेको जोर्नी स्थायी रूपमा प्राकृतिक जोर्नीमा फिट गरिन्छ । सामान्यतया ५० वर्ष आसपासदेखी बढी जोर्नी र घुँडा दुख्ने समस्या देखिन्छ ।
जोर्नी दुख्ने समस्या लिएर अस्पताल आउने बिरामीको संख्या दिनानुदिन बढ्दै गएको अस्पतालले जनाएको छ । समयमै औषधी उपचार नहुँदा र लापरबाही गर्दा शरीरको सम्पूर्र्ण भार थेग्ने हुँदा घुँडाको जोर्नीलाई शरीरको महत्वपूर्ण जोर्नी मानिन्छ । जोर्नीमा समस्या आउँदा हिँडडुल गर्न, उठ्न-बस्न नै समस्या आउने हुँदा शरीर चलायमान गर्न सकिँदैन । यसो हुनुको मुख्य कारण घुँडाको हड्डी खिइनु हो ।
शरिरको तौल अधिक र बुढ्यौलीपनमा हड्डी खिइने रोग देखिनु स्वभाविक रुपमा लिनुपर्छ । तुलनात्कम रुपमा हेर्दा महिलामा जोर्नी र घुँडा दुख्ने समस्या बढी देखिने गरेको छ । विशेषज्ञ चिकित्सकका अनुसार घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण शल्यक्रिया विधिद्वारा गरिन्छ । जोर्नी प्रत्यारोपण गर्नुपर्ने घुँडामा अगाडीको भागबाट काटेर खिइएको जोर्नीलाई निकालिन्छ र सँगै कृत्रिम जोर्नीलाई सही आकारमा मिलाएर प्रत्यारोपण गरिन्छ ।