नेपालगन्ज : भारतीय सीमावर्ती जिल्ला बहराइचको रुपैडिहामा नेपाल–भारत मैत्री संघ बाँके शाखाले निःशुल्क आँखा जाँच शिविर सञ्चालनको तयारी अगाडी बढाएको छ । आगामी मार्च पहिलो साता गर्ने गरि आवश्यक तयारी चालेको हो ।
नेपाल–भारत मैत्री संघकी केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा नेतृत्वको टोलीले निःशुल्क आँखा जाँच शिविरका लागी आवश्यक तयारी अगाडी बढाएको हो । संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शर्मा नेतृत्वको टोलीले शनिबार भारतको रुपैडिहा नगर पञ्चायतका चेयरमैन डाक्टर उमाशंकर बैश्यलाई भेट गरि निःशुल्क आँखा जाँच शिविरको आवश्यक सम्पूर्ण तयारीका लागी प्रकृया अघि बढाएकी हुन् ।
नेपाल–भारत सम्बन्धलाई थप मजबुत तुल्याउन परोपकारी कार्यको थालनी गरिएको जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष शर्माले रुपैडिहा नगर पञ्चायतलाई सहयोगका लागि अपिल गरिन् । नेपाल स्थित नेपाल–भारत मैत्री संघको उक्त आग्रहलाई स्वीकार गर्दै भारत रुपैडिहा नगर पञ्चायतका चैरमैन डाक्टर बैश्यले निःशुल्क आँखा जाँच शिविरका लागी आवश्यक सम्पूर्ण तयारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै उक्त शिविरबाट रुपैडिहा नगर पञ्चायतका नागरिक लाभाम्वित हुने बताए ।
उनले आर्थिक समस्यामा उपचार अभाव भोगिरहेका ठूलो संख्यामा नागरिकले सुविधा पाउने उल्लेख गरे । उनले हाल आफूहरु बजेट अधिवेशनमा व्यस्त रहेको र बिद्यालय तथा कलेजको परीक्षा सञ्चालनमा रहेको जनाउँदै आवश्यक सम्पूर्ण तयारी गर्न नेपाल–भारत मैत्री संघलाई आग्रह गरे । केन्द्रीय सल्लाहकार रतन कुमार टण्डन, वरिष्ठ उपाध्यक्ष शर्माको पहलमा जिल्ला कार्यसमिति एवम स्वास्थ संयोजक डा. पंकज कुमार गुप्ताले उक्त आँखा जाँच शिविरको चाँजोबाजो मिलाउँदैछन् ।
![indo nepal Friendship meeting1708790548.jpg](https://www.dursanchar.com/uploads/posts/indo nepal Friendship meeting1708790548.jpg)
नेपाल भारत मैत्री संघ बाँके जिल्ला शाखा र फत्तेबाल आँखा अस्पतालको सहयोग तथा भारत रुपैडिहा नगर पञ्चायतको सहकार्यमा स्वास्थ्य शिविर हुने भएको हो । उक्त शिविरमा फत्तेबाल आँखा अस्पतालले चिकित्सक तथा प्राविधिकको सहयोग गर्नेछ । टोलीमा सहभागी संघका केन्द्रीय सल्लाहकार एवम फत्तेबाल आँखा अस्पताल नेपालगन्जका अध्यक्ष रतन टण्डनले शिविरमा सेवाग्राहीलाई निःशुल्क आँखा जाँचसँगै औषधी प्रदान गरिनुका साथै स्वास्थ्य सम्बन्धी परामर्श समेत प्रदान गर्ने जानकारी दिए ।
उनले शिविरबाट लाभाम्वित हुने सेवाग्राहीको थप उपचारका आवश्यक प्रबन्ध मिलाउन आग्रह आग्रह गरे । यस्तै उक्त टेलीमा सहभागी नेपाल–भारत मैत्री संघ बाँकेका कार्यसमिति सदस्य तथा स्वास्थ्य संयोजक डा. पकंज कुमार गुप्ताले यस्ता खाले गतिविधीबाट दुबै देशका नागरिकले सेवा पाउने मात्र नभएर दुबै देशका नागरिक बीचको सम्बन्ध कसिलो हुने बताए ।
उक्त भेटघाटमा नेपाल–भारत मैत्री संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा, केन्द्रीय सल्लाहकार एवम फत्तेबाल आँखा अस्पतालका अध्यक्ष रतन टण्डन, संघ बाँकेका जिल्ला सदस्य डा. पंकजकुमार गुप्ता, पत्रकार विजय मल्ल र भारतीय पत्रकार सञ्जय बर्माको उपस्थिती रहेको थियो । संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शर्माका अनुसार निःशुल्क आँखा जाँच शिविरको मिति छिटै अर्को बैठकबाट तय गरिनेछ । शिविरबाट कम्तिमा ३ सय बढी भारतीय नागरिकले सेवा पाउनेछन् ।