नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका संस्थागत बिद्यालय (बोर्डिङ स्कुल) ले नियम विपरित अझैपनि ‘मनपरी शुल्क असुलेको पाइएको छ । स्कुलको मनपरी शुल्क असुलीले अभिभावकहरु आतंकित बनेका छन् ।
संस्थागत बिद्यालयलाई नियमन र कारबाही गर्ने अधिकार पाएको नेपालगन्ज उपमहानगरपालिका मुखदर्शक हुँदा स्कुलले खुलेआम ब्रम्हलुट मच्चाएका हुन् । उपमहानगरपालिकाले ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका-२०८० लाई कार्यान्वयन नै गर्न सकेको छैन ।
निर्देशिकामा विद्यार्थी पहिलो पटक भर्ना हुँदा भर्ना शुल्क १ महिनाको मासिक शुल्क बराबर लिन पाइने भनिएको छ । यस्तै विद्यालयले मासिक पढाई शुल्क, कुल २ महिना बराबर नबढ्ने गरी वार्षिक शुल्क-अतिरिक्त, प्रयोगशाला मर्मत, पुस्तकालय र प्राथमिक उपचार शुल्क लिन पाउने भनिएको छ ।
यसैगरी अनुसूचिकै विविधमा कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, आवाश शुल्क, परिवहन, भोजन, विशेष प्रशिक्षण (जुडो, पौडी, गायन, नृत्य) र धरौटी वापत १ महिनाको मासिक शुल्क बराबर लिन पाउने ब्यवस्था गरिएको छ । यि शुल्क लिन पाउने गरी उपमहानगरपालिकाले बनाएको मापदण्ड नै बोर्डिङ स्कुलको पक्षमा रहेको अभिभावकको गुनासो छ ।
स्कुलले मापदण्ड बाहेकको शिर्षकबाट समेत शुल्क असुल्ने गरेको पीडित अभिभावकले बताएका छन् । नेपालगन्जको ब्राइटल्याण्ड स्कुलले डायरी शुल्क वापत अभिभावकसँग नियम विपरित रकम असुलेको तथ्य बाहिर आएको छ । ‘उपमहानगरपालिकाको बनाएको मापदण्ड नै अभिभावकको ढाँड सेक्ने खालको छ, उपमहानगरपालिका मुखदर्शक बन्दा स्कुलले मापदण्ड बाहेकको शिर्षकबाट पनि मनपरी रुपले शुल्क असुलेका छन्,’ अभिभावक भन्छन् । केही स्कुलले उपमहानगरपालिकाको मापदण्डलाई लत्याइदिएको अभिभावक बताउँछन् ।