काठमाडौँ : अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै ठाउँ ठाउँमा बाढी र पहिरोको त्रास बढेको छ । पहिरो आएपछि ठाउँ ठाउँमा सडक अवरुद्ध भएको खबर प्राप्त भईरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कन्काई, कमला र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तह नजिक पुगेको छ । बिहानको मापन अनुसार पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ । आज र भोलि देशका धेरैजसो प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार आज सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी लगायत कोशी बेसिनका नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ । यसैगरी नारायणी, त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।
तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य बढ्ने र भोलि असोज १० गते उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । स साना नदीहरूमा आउन सक्ने आकस्मिक बाढीको जोखिमलाई हेर्दा आज देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरु बढी प्रभावित हुने देखिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनमा स्पष्ट पारिएको छ, ‘गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ ।’